नेकपा माओवादी केन्द्र रुकुम पश्चिम मुसीकोट नगर समितिले निर्वाचन परिचालन समिति गठन गरेको छ । आज मुसीकोट ५ शेरिगाउँको सहिद प्रतिष्ठानमा बसेको पार्टी नगर समितिको विस्तारित बैठकले केन्द्रीय सदस्य बसन्त शर्मा कुशलको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । समिति ४५ सदस्यीय छ ।
पार्टीको गत आईतबार बसेको जिल्ला समन्वय समिति बैठकले सवै पालिकामा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार माओवादीले मुसीकोटमा केन्द्रीय सदस्यलाई निर्वाचन परिचालनको जिम्मेवारी दिएको हो । मुसीकोट निर्वाचन परिचालनको जिम्मा पाउनुभएका शर्मा पार्टीको जिल्ला इन्चार्ज समेत हुनुहुन्छ ।
त्यस्तै बैठकले महिला र युवाको नगर सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ । फागुन २१ गते हुन लागेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र चैत्र ५ गते हुन लागेको वाइसीयल नेपालको नगर सम्मेलनलाई सफल पार्न जन सहभागितालाई व्यापक बनाउने बैठकले निर्णय गरेको माओवादी केन्द्र मुसीकोटका अध्यक्ष धिरन शिर्पालीले बताउनुभयो ।
घर घरमा गएर मतदाता सर्भेक्षण गर्ने र चैत्र १० सम्म नगरमा भएका सम्पुर्ण जनवर्गीय संगठनहरुको भेला तथा सम्मेलन र बैठक बसि सक्ने समेत बैठकले निर्णय गरेको अध्यक्ष शिर्पालीले बताउनुभयो । साथै बैठकले विभिन्न १७ वटा विभागका फ्याक्सन इन्चार्ज समेत तोकेको छ । बैठकमा १४ वटै वडाका पार्टी अध्यक्षहरुले रिपोर्टिङ गरेका थिए ।
नगर कमिटी अध्यक्ष धिरन सेर्पालीको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजकुमार शर्मा, बसन्त शर्मा, केन्द्रिय निर्वाचन आयोग सदस्य देविलाल गौतम, प्रदेश कमिटी सदस्य तथा जिल्ला संयोजक गोविन्द रोका विज्ञान, बुद्धिप्रसाद शर्मा, नेता गोप्यश्वर केसी, जयबहादुर पाण्डे, प्रेमकुमारी सुनार, मिलन खड्का, श्रीकुमार कठायत लगाएतको आथित्यता रहेको थियो । बैठकको संचालन नेकपा माओवादी केन्द्र मुसीकोटका सचिव शुशिल गौतमले गर्नुभएको थियो ।