रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा आयोजित खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता अनिल बुढा र ध्रुवविक्रम थापाको जोडिले जितेको छ । मुसीकोट नगरपालिका–१, खलंगा स्थित बालमन्दिर प्रांगनमा आज भएको फाईनलमा सानीभेरी गाउँपालिकाको कविन्द्र पुन र हेमन्त रोकायको जोडिलाई २–० को सोझो सेटमा हराउदै अनिल र ध्रुवको जोडि पहिलो भएको हो । विजेता अनिल र ध्रुवको जोडिले २१ हजार १ सय २१ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उप–विजेता कविन्द्र र हेमन्तको जोडिले भने ११ हजार १ सय ११ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
आजै भएको पहिलो सेमिफाईनलमा विशाल बिष्ट र अविनाश केसीको जोडिलाई २–० को सोझो सेटमा पराजित गर्दै अनिल र ध्रुवको जोडि फाईनल प्रवेश गरेको हो भने डम्बर थापा र भावेश बोहोराको जोडिलाई २–० कै सोझो सेटमा हराएर कविन्द्र र हेमन्तको जोडिले फाईनलमा स्थान सुरक्षित गरेको थियो । सेमिफाईनलसम्म पुग्ने विशाल र अविनाश तथा डम्बर र भावेशको जोडिले समान ५ हजार ५ सय ५५ रुपैयाँ नगदको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि धु्रवविक्रम थापा र इमर्जिङ प्यलेयर गोपाल कठायत घोषित हुनुभयो । सिर्जनशिल युवा सञ्जाल नेपालले आयोजना गरेको प्रतियोगितामा रुकुम पश्चिम, पूर्व, जाजरकोट, रोल्पा र सल्यानका गरी ५४ टिमले सहभागिता जनाएका थिए । जसमा रुकुम पश्चिमका मात्र ४४ वटा टिम थिए । प्रतियोगिता २४ गतेबाट सुरु भएको थियो । ब्याडमिन्टन खेलको प्रबद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष अध्यक्ष विशाल विष्टले बताउनुभयो ।