रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा विभिन्न कार्यक्रम गरी १ सय १२ औं अन्तराष्ट्रिय महिला दिवस मनाईने भएको छ । आज उप प्रमुख प्रेमकुमारी सुनारको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले मार्च ८ अर्थात फागुन २४ गते विभिन्न कार्यक्रम गरेर महिला दिवस मनाउने निर्णय गरेको हो ।
दिवसको अवसरमा नगरपालिकाको महिला, वालवालिका तथा जेष्ठ नागरीक शाखाले महिला भलिबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा मुसीकोटमा वासोवास गर्ने महिलाहरुले सहभागिता जनाउन पाउने नगरपालिकाले जनाएको छ । प्रतियोगिताको प्रथमले २५ हजार नगद पुरस्कार पाउने छ ।
द्धितियले १५ हजार, तृतियले १० हजार पुरस्कार पाउने नगर महिला, वालवालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख कमला मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार पुरस्कार राशिमा २५ प्रतिशत कर कटौति गरिने छ । त्यस्तै दिवसको अवसरमा महिला हिंसा न्युनिकरण सम्बन्धी सचेतनामुलक लोकगीत प्रतियोगिता पनि आयोजना गरिएको छ ।
उक्त प्रतियोगितामा नगरपालिका भित्रका महिलाहरुले समुहगत रुपमा सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्धितियले ३ हजार, तृतियले २ र शान्त्वना हुनेले १ हजार रुपैंया प्राप्त गर्ने प्रमुख मल्लले बताउनुभयो । यसका साथै वालविवाह न्युनिकरणमा युवाहरुको भुमिका विषयक वक्तृत्वकला, कुर्सीरेस र घैटोफोर प्रतियोगिता पनि आयोजना गरिएको छ ।
दिवसको अवसरमा आयोजित कार्यक्रमहरु २३ गतेबाट सुरु हुने छन् भने दिवसको दिन र्याली सहित मञ्चको कार्यक्रम आयोजना गरिएको छ । दिवस मनाउन नगरपालिकालाई सामाजिक विकास कार्यालय र ओरेक नेपालले पनि सहयोग गर्ने भएका छन् । यो वर्ष दिवसको नारा सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चिता रहेको छ ।