रुकुम पश्चिममा आजबाट राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन अभियान सुरु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर १ र ५ बाट विवरण संकलन अभियान सुरु भएको हो ।
आज मुसीकोटका १, २, ४ र ५ नम्बर वडाबाट अभियान सुरु गर्ने कार्यक्रम रहेकोमा वडा नम्बर १ र ५ मा अभियान सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वडा नम्बर २ र ४ सहित वडा नम्बर ३, ६ र ७ मा भोलीबाट अभियान सुरु हुने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्र संकलन हुने विवरण अव भने वडा तहबाटै संकलन सुरु गरिएको हो । जसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट दर्ता अपेरटर परिचालन भएका छन् । रुजु अधिकारीको जिम्मा सम्वन्धित वडा सचिवलाई दिईएको छ ।
त्यस्तै एक जना स्वयंसेवक खटाईएको छ । प्रमुख जिल्ला अधिकारीका अुनसार प्रत्यक वडामा कम्तिमा ४ जनासम्म कर्मचारी खटिएका छन् । अव विस्तारै जिल्ला भरमा विवरण संकलन अभियान संचालन हुने उहाँले बताउनुभयो । यस अभियानबाट व्यक्तिको जैविक र वैयक्तिक विवरण संकलन हुने उहाँको भनाई छ ।
यसका आधारमा व्यक्तिको राष्ट्रिय परिचय पत्र बन्ने छ । परिचय पत्र भने पछि पाईने छ । जिल्ला प्रशासन कार्यालयले आफ्नो वडामा गएर अनिवार्य रुपमा विवरण टिपाउन सबैमा अनुरोध गरेको छ । वडा संगै जिल्ला प्रशासन कार्यालयमा पनि राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन जारी रहने छ । प्रशासनमा दुई वटा स्टेशनबाट विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।