रुकुम पूर्वको सिस्ने गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । गाउँपालिका भित्रका ५५ जना सहिद परिवारलाई सम्मान गरेको हो । बिहीबार गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच सहिद परिवारलाई सम्मान गरिएको हो । सिस्ने गाउँपालिका गाउँकार्यपालिका कार्यालय रुकुम पूर्वको आर्थिक सहयोग तथा सहिद प्रतिष्ठान रुकुम पूर्वको आयोजनामा सहिद परिवारलाई सम्मान गरिएको हो ।
हरेक वर्ष सहिद परिवारलाई सम्मान गर्दै आएको गाउँपालिकाले यो वर्ष पनि सम्मान गरेको हो । २ नम्बर वडा १३ जना, ३ नम्बर वडाका १ जना, ४ नम्बर २ जना, ५ नम्बर वडाका ८ जनालाई सम्मान गरिएको सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढाले जानकारी दिनु भयो । उहाँका अनुसार ६ नम्बर वडाका १० जना, ७ नम्बर वडाका २ जना, र ८ नम्बर वडाका १९ जना सहिदका परिवारलाई सम्मान गरिएको हो । सहिद परिवार सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कुमारी बरालले सहिदको सपना पूरा गर्न सिस्ने सरकार सधै प्रतिबद्ध रहेको बताउनुभयो ।
अहिले विभिन्न मानिसलाई रोजगारी सिर्जना गर्दै आयआर्जनमा जोड्दै लिएको र पाँच वर्षे कार्यकालको अवधिमा स्थानीय सरकारको क्षमताअनुसार सहिद, घाइते, अपाङ्ग, बेपत्ता परिवारको लागि विभिन्न कामहरु गरेको अध्यक्ष बरालले बताउनुभयो । गाउँपालिका अध्यक्ष बरालको अध्यक्षतामा भएको सहिद परिवार सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य एवम् जिल्ला समन्वय समिति संयोजक मेघबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य एवम् सिस्ने गाउँपालिका इन्चार्ज कृष्ण रेग्मी सिस्ने गाउँपालिका उपाध्यक्ष बुढा, नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका समिति अध्यक्ष मन्सराम खड्का, सिस्ने गाउँकार्यपालिका सदस्य एवम् सहिद परिवार सिस्ने गाउँपालिका इन्चार्ज भद्रि थापा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सिस्ने गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष जिवन केसीले गर्नुभएको थियो ।