पापिनि मेला तथा माघे संक्रान्तिको अवसरमा मुसीकोट नगरपालिका १० मा विभिन्न खेलकुद प्रतियोगिता सुरु भएका छन् । सहिद कामि बुढा, विजय छहरा युवा क्लवले खुला वडा स्तरीय पुरुष भलिबल, महिला भलिबल, लोक दोहोरी, घैटोफोर, परम्परागत पापिनि नाच, पैसेरु नाच, मयुर नाच लगायतका खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरु आयोजना गरेको छ ।
आज एक कार्यक्रमका विच वडाध्यक्ष गोप्यश्वर केसीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । पुरुष भलिबलको प्रथमले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार पुरस्कार प्राप्त गर्ने छ । महिला भलिबलको प्रथम पुरस्कार ७ हजार, दोस्रो पुरस्कार ५ हजार र तेस्रो पुरस्कार ३ हजार ५ सय तोकिएको छ ।
पुरुष भलिबलमा रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका गरी १७ वटा टिम रहेका छन् । भने महिला तर्फ दर्ता हुने क्रम चलिरहेको आयोजक क्लवका सल्लाहकार लोकेन्द्र कठायतले जानकारी दिनुभयो । प्रतियोगिता माघ १ गतेसम्म संचालन हुने उहाँले बताउनुभयो । हरेक वर्ष परम्परागत पापिनि मेला र माघे संक्रान्तिको अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिएको छ ।