रुकुम पूर्वको रुकुमकोटमा आयोजना गरिएको सात दिने आधारभुत रेडियो पत्रकारिता, उद्घोषण तथा प्राविधिक तालिम सम्पन्न भएको छ । सिस्ने, भूमे तथा पुथाउत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग, तथा प्रेस सेन्टर नेपाल रुकुम पूर्व को समन्वय र रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्जले तालिमको आयोजना गरेको थियो ।
१४ गते बाट सुरु भएको पत्रकारिता तालिम आज सम्पन्न भएको हो । तालिममा सहभागि पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० का विकास बुढामगरले तालिम उपलब्धिमुलक भएको प्रतिक्रिया दिनुभयो । पत्रकारिता, उद्घोषण र रेडियो प्राविधिकका आधाभूत सिप सिकेको भन्दै यो तालिममा सिकेको सिपलाई जीवन व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
तालिम समापनलाई सम्बोधन गर्दै सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले सञ्चार क्षेत्रको विकासमा पनि स्थानीय तहको दायित्व हुने भएकाले स्थानीय सरकार त्यो दायित्वबाट टाढा नहरने बताउनुभयो । यही दायित्व अन्तर्गत पत्रकारिता तालिममा सहयोग गरेको भन्दै उहाँले स्थानीय सरकारले गरेका र गर्न बाँकी कामकाजको प्रचार प्रसार हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले तालिम लिएकाहरु आवाजविहीनका आवाजको रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाको समग्र विकासका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै बुढाले सञ्चारको क्षेत्रको विकासमा पनि स्थानीय सरकारले निरन्तर लागिरहेको बताउनुभयो ।
सबैले सकारात्मक दृष्टिकोण राखेर जिल्लाको विकासमा लाग्नुपर्ने भन्दै उहाँले तालिम लिएकाहरुका भूमिका थप प्रभावकारी हुने बताउनुभयो । स्थानीय सरकार विकास निर्माण, सामाजिक विकास, स्वास्थ्य, शिक्षा लगायतको विकासमा निरन्तर रहेकाले त्यसको प्रचार अन्यत्र पुग्नेगरी गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष बुढाले सकारात्मक तरिकाले पनि नभएका कामकाजको प्रचार होस् भन्ने चाहेको बताउनुभयो ।
स्थानीय सरकारले विकासमा ध्यान दिइरहेको बताउनुभएका उहाँले यद्यपी त्यो पर्याप्त नभएको भन्दै समग्र विकासका लागि पत्रकारिता क्षेत्रको भूमिका उल्लेखनिय हुनेमा जोड दिनुभयो । तालिममा रुकुम पूर्वका ३ स्थानीय तह सिस्ने, भूमे, पुथाउत्तरगंगा गाउँपालिका भित्र पर्ने ३१ वडाका ४३ जनाको सहभागिता रहेको थियो । तालिममा पत्रकारिता, रेडियो प्राविधि तथा रेडियो कार्यक्रम उद्घोषण लगायतका विषयमा सिकाईएको रेडियो पूर्वी रुकुमका अध्यक्ष लालबहादुर विसीले जानकारी दिनु भयो ।
रेडियो पूर्वी रुकुमका स्टेशन म्यानेजर गणेश वलीको अध्यक्षता रहेको तालिम समापनमा रेडियो सञ्चालक समितिका अध्यक्ष विसी प्रशिक्षकद्धय मेगराज खड्का र हरि गौतम लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन रेडियो पूर्वी रुकुमका प्राविधिक प्रमुख वसन्त बाँठा मगरले गर्नुभएको थियो ।