Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम र पूर्वमा पनि मतदाता नामावलीमा दाबी विरोध सुरु

स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध सुरु भएको छ । नामावली अद्यावधिक कार्यक्रम अन्र्तगत दाबी विरोधका लागि आयोगले एक साताको मिति तोकेको छ । जसअनुसार रुकुम पश्चिम र पूर्वमा पनि मतदाता नामावलीमा दाबी विरोधको काम सुरु भएको छ । यसका लागि २६ गतेसम्मको समय तोकिएको भएपनि मतदाताले २२ गतेसम्म दाबी विरोध दिन सक्ने जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वका जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । 

आज देखि २२ गतेसम्म मतदाताले दाबी बिरोध तथा त्रुटी सच्याउनका लागि निवेदन दिनसक्ने र २३ गते देखि २६ गतेसम्म निर्वाचन कार्यालयले काम गर्ने उहाँले बताउनुभयो । अद्यावधिक कार्यक्रम अन्र्तगत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाउने जिल्ला निर्वाचन अधिकारी ओलीले बताउनुभयो ।

त्यस्तै मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाइको मौका दिने कार्यक्रम पनि यस समयभित्र सञ्चालन हुने छ । फागुन २६ गतेभित्र परेको उजुरीबारे अनुसन्धान तथा छानबिन गरी त्यसपछि सम्बन्धित मतदातालाई प्रमाणसहित उपस्थित हुने सूचना प्रकाशन गरिने छ । मतदाता नामावली नियमावलीमा दर्ता अधिकारीले छानबिनपछि त्यस्तो उजुरीमाथि कारबाही स्वरूप मतदाता नामावलीबाट नाम हटाउनसक्ने अधिकार दिएको छ ।

यो प्रक्रियापछि निर्वाचन आयोगले बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा भाग लिने मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने छ । हालको अवस्थामा रुकुम पश्चिममा मतदाताको संख्या १ लाख ४ हजार ८ सय ५३ रहेको छ । अन्तिम नामावाली प्रकाशन हुने बेला यसमा केही तलमाथि हुन सक्ने जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । त्यस्तै रुकुम पूर्वमा मतदाताको संख्या ३४ हजार १ सय ५२ रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ । 

जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीका अनुसार पुथाउत्तरगंगा गाउँपालिकामा ११ हजार ३ सय ८८, भूमे गाउँपालिकामा ११ हजार ५ सय ९९ र सिस्ने गाउँपालिकामा ११ हजार १ सय ६५ जना मतदाता रहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update