रूकुम पश्चिमको मुसीकोट नगरपालिकाले नगर भरमा रहेका सहिद परिवारलाई सम्मान गरेको छ । आज ५ नम्बर वडाको सहिद प्रतिष्ठानकाे सभा हल शेरिगाउँमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जनयुद्ध तथा जनआन्दोलनका सहिद परिवारलाई सम्मान गरेको हो । नगरपालिकाका १४ वटै वडाका १ सय १ सहिद परिवारलाई काँसको थाली, दोसल्ला र नगदले सम्मान गरिएको नगरपालिकाले जनाएको छ । एक/एक वटा काँसका थाली र प्रतिपरिवार ५ सय रुपैंया नगद प्रदान गरिएको हो ।
कार्यवाहक नगर प्रमुख प्रेमकुमारी सुनार, सामाजिक विकास समितिका संयोजक शुशिल गौतम र वातावरण तथा बिपद ब्यबस्थापन समितिका संयोजक बुद्धिप्रसाद बुढा लगायतले सहिद परिवारलाई सम्मान गर्नुभएको थियो । चालु आर्थिक बर्ष २०७८/०७९ को ३ लाख बजेटबाट सहिद परिवारलाई सम्मान गरिएको कार्यवाहक नगर प्रमुख प्रेमकुमारी सुनारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सुनारले महान सहिदको सम्झनामा उनिहरुका परिवारलाई सम्मान गरिएको बताउनुभयो ।
सहिदले देशको परिवर्तनमा लगाएको गुण कसैले पनि भुल्न नहुने र आफुहरुले सधै सहिदको सम्मान हुने काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । आफुहरु निर्वाचित भएर आए देखि नै सहिदको सम्झना र सम्मान स्वरुप उनिहरुका परिवारलाई कुनै नै कुनै रुपमा सम्झिरहेको उहाँको भनाई थियो । आगामी दिनमा पनि सहिद परिवारकै साथमा रहने कार्यवहाक नगर प्रमुख सुनारले बताउनुभयो ।
सम्मान कार्यक्रममा बोल्दै सहिद परिवारका सदस्य प्रबिर घर्तीले सहिदको सपना अझै पुरा हुन नसकेको र सहिद परिवारको साँच्चिकै सम्मान नभएको गुनासो गर्नुभएको थियो । वातावरण तथा बिपद ब्यबस्थापन समितिका संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष बुद्धिप्रसाद बुढाको स्वागत मन्तव्य रहेको सम्मान कार्यक्रमको संचालन मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनले गर्नुभएको थियो ।