नेपाली कांग्रेस रुकुम पश्चिमले जिल्लाका सबै स्थानीय तहमा टोली परिचालन गरेको छ । बिहिबार र शुक्रबार मुसीकोट खलंगाको विपि स्मृति भवनमा बसेको जिल्ला कार्य समिति बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सबै पालिकामा ७ सदस्यीय टोली परिचालन गर्ने निर्णय गरेको हो । बैठकले सबै स्थानीय तहका लागि टोली प्रमुख तोकेको छ ।
मुसीकोट नगरपालिकामा हर्कसिंह खत्री, चौरजहारी नगरपालिकामा विरबहादुर ओली, आठबीसकोट नगरपालिकामा तिलक भण्डारीको नेतृत्वमा टोली परिचालन भएको छ । त्यस्तै बाँफिकोट गाउँपालिकामा जिल्ला सचिव तारकबहादुर शाही, सानीभेरी गाउँपालिकामा जिल्ला सचिव परमेश्वर भण्डारी र त्रिवेणि गाउँपालिकामा कोषाध्यक्ष मोहबिर खड्कालाई संयोजकको जिम्मेवारी बैठकले दिएकाे छ ।
उक्त टाेलीले निर्वाचन लक्षित कार्यक्रमहरु गर्ने नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार यो टोलीले भेला, बैठक, जनभेटघाट सहित फागुन २९ गतेबाट सुरु हुन लागेको पार्टीको केन्द्रीय कार्यक्रम घर घर जाऔं, कांग्रेसलाई जिताऔं भन्ने अभियानको तयारी समेत गर्ने छ ।
यो अभियानको २९ गते मुसीकोटमा उद्घाटन हुने र त्यस पश्चात २९ र ३० गते जिल्ला समिति, क्षेत्रिय समिति, पालिका समिति, वडा समिति, संघीय महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि लगायतका लागि केन्द्रीय नेताहरुको उपस्थितिमा प्रशिक्षण दिने कांग्रेस रुकुम पश्चिमले तयारी गरेको छ ।
चैत्र २ गते जिल्ला कार्यसमितिको अर्को बैठक गरेर जिल्लामा रहेका सिनियर नेताहरुलाई समेत स्थानीय तहको निर्वाचनको तयारीका लागि परिचालन गर्ने निर्णय भएको सभापति ओलीको भनाई छ । त्यस्तै बैठकबाट जिल्ला सभापति ओलीको संयोजकत्वमा २५ सदस्यीय कार्य सम्पादन समिति पनि बनाईएको छ । जिल्ला सभापति ओलीको अध्यक्षतामा बसेको बैठकमा कांग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।