नेपाली कांग्रेस रुकुम पश्चिमले वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा आवश्यकता अनुसार गठबन्धनका लागि खुला रहने निर्णय गरेको छ । बिहिबार र शुक्रबार मुसीकोट खलंगामा बसेको जिल्ला कार्य समिति बैठकले आवश्यकता अनुसार चुनावि गठबन्धनका लागि खुला रहने निर्णय गरेको हो । केन्द्रीय सर्कुलर र स्थानीय आवश्यकताका आधारमा गठबन्धनका लागि खुला रहने निर्णय भएको नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो ।
‘आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्न खुला रहनुपर्छ भन्ने निर्णय भएको छ, सभापति ओलीले कखरासंग भन्नुभयो, यो वा त्यो दलसंग गठबन्धन गर्ने भन्ने कुरा त अहिले भएन, तर केन्द्रको निर्देशन र स्थानीय आवश्यकताका आधारमा मिलेर जाने भन्ने भएको छ ।’ जिल्लामा मुख्य गरी ४ दलका विचमा प्रतिस्पर्धा हुने देखिएको छ । अहिले जिल्लाका सबै स्थानीय तहमा माओवादीले सरकार चलाईरहेको छ ।
माओवादी, कांग्रेस, एमाले र संघीय समाजवादी मुख्य प्रतिस्पर्धामा छन् । अहिले संघीय सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी लगायतको गठबन्धन छ । केन्द्रमा यि दलहरुले नै चुनावि गठबन्धन गर्ने निर्णय गरेपनि जिल्लामा भने उक्त गठबन्धन हुनेमा धेरैले आशंका गरिरहेका छन् ।