अखिल नेपाल महिला संघ क्रान्तिकारी रुकुम पश्चिम मुसीकोट नगरपालिकाको अध्यक्षमा कमला बुढा पुन चयन हुनुभएको छ । आज भएको संगठनको पहिलो नगर सम्मेलनबाट पुनको अध्यक्षतामा ८५ सदस्यीय नगर समिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा शुसिला केसी, विमला खनाल र रिता विक, सचिवमा निर्मला रसाईली, सह सचिव पम्फा दमाई र कोषाध्यक्षमा सविना पुन चयन हुनुभएको छ । सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका विज्ञानले महिलाहरु शसक्त बन्नुपर्नेमा जोड दिनुभएको छ ।
महिला संगठनले घरेलु हिंसा विरुद्धको संघर्षको साथै राजनीतिक हिंसा विरुद्धको संघर्षलाई पनि सशक्त बनाउनुपर्नेमा उहाँको जोड छ । त्यस्तै पार्टी र सत्ताका कार्यकारी पदहरुमा समेत महिला सहभागिता सुनिश्चित गर्न महिलाहरु राजनीतिक हिंसाका बिरुद्ध पनि आन्दोलित हुनुपर्ने उहाँले बताउनुभयो ।
पैत्रिक सम्पत्तिमा समान अधिकारको नारा कार्यान्वयन गर्न समेत परिणाममुखी संघर्षको एजेण्डा अघि बढाउन उहाँले संगठनको ध्यानाकर्षण पनि गराउनुभयो । प्रदेश कमिटी सदस्यहरु बुद्धि प्रसाद शर्मा, मिलन खड्का र प्रेम कुमारी सुनार, नगर अध्यक्ष धिरन शिर्पाली, अखिल क्रान्तिकारीका अध्यक्ष नारायण केसी, नेपाल दलित मुक्ति मोर्चाका प्रदेश सदस्य यामकुमारी परियारले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।