रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ४९ जना सहिदका आफन्तलाई सम्मान गरेको छ । सहिद पूर्ण–शान्त स्मृति भवनमा औपचारीक कार्यक्रम गरी नगरपालिकाले जनयुद्ध तथा जनआन्दोलनमा सहिद भएकाहरुका परिवारजनलाई सम्मान गरेको हो । नगरका सबै वडामा रहेका सहिद आफतन्तलाई एक/एक वटा काँसको थाली र दोसल्लाले सम्मान गरिएको हो ।
कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, चौरजहारी नगरपालिका प्रमुख विशाल शर्मा, उपप्रमुख राधा रोका लगायतले सहिद परिवारलाई सम्मान गर्नुभएको थियो । सहिद सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री शर्माले सहिदको त्याग, बलिदानकै कारण व्यवस्था बदलिएको बताउनुभयो । विनाकुनै स्वार्थ देश र जनताका लागि प्राण उत्सर्ग गर्ने सहिदको सपना पूरा गर्न पार्टी निरन्तर लागिरहेको उहाँको भनाई छ ।
सहिद सप्ताहको अवसरमा नगरपालिकाले सहिद सम्मान गरेको हो । नगरप्रमुख विशाल शर्माले स्थानीय सरकारले हरेक वर्ष विभिन्न ठाउँमा पुगेर सहिद परिवारको सम्मान गर्ने गरेको स्मरण गर्दै सहिदप्रतिको सम्मान र परिवारप्रतिको आदर उत्तिकै रहेको बताउनुभयो । नगरपालिकाले सहिद परिवार लक्षित अन्य विभिन्न कार्यक्रम पनि गरिरहेको नगरप्रमुख शर्माले बताउनुभयो ।