Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा विद्युत विस्तार धमाधम
सानीभेरी वडा नम्बर ७ र ८ मा केन्द्रीय प्रशारण लाइन विस्तारकाे काम हुँदै ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका वडा नम्बर ७ र ८ मा केन्द्रीय प्रशारण लाईन विस्तारको काम चलिरहेको छ । दुइ वडाका ५ सय घरमा बिजुली पुर्याउने गरी काम भइरहेको हो । अहिलेसम्म मुख्य लाईन विस्तारको काम भएको छ । अव सहायक लाइन विस्तारको काम बाँकी रहेको वडा नम्बर ८ का सदस्य तथा विद्युत प्राविधिक प्रेम बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ८ को चौरबजार देखि वडा नम्बर ८ कै कालिकासम्म मुख्य लाइन तानिएको छ । 

चौरबजार, आमडाँडाको विच गाउँ र कालिका गरी तीन ठाउँमा ट्रान्सफर्मर समेत जडान गरिएको वडा सदस्य बुढाले बताउनुभयो । अव केही दिनमा ट्रान्सफर्मर परीक्षणको काम हुने उहाँको भनाई छ । ट्रान्सफर्मरको काम सकिएपछि सहायक लाइन विस्तार सुरु हुने र विद्युत प्राधिकरणबाट मिटर बाँढिएपछि घरघरमा बिजुली बल्ने उहाँले बताउनुभयो । छिटो घर घरमा बिजुली बनाउने गरी वडा सदस्य बुढा आफै बिद्युत विस्तारमा खटिनुभएको छ । आफु बिद्युत प्राविधिक समेत रहेकाले छिटो काम सक्नका लागि आफ्नो काम छाडेर बिद्युत विस्तारमा लागि परेको वडा सदस्य बुढाले बताउनुभयो । 

वडा नम्बर ७ र ८ का डेढ दर्जन टोलमा बत्ति बाल्ने गरी काम भइरहेको बताईएको छ । वडा नम्बर ८ का चौरबजार, टाकुरा, आमडाँडा विचगाउँ, घारीघर, विप्पे, डलसिंगे, लामडाँडा मार्दोल, पाखेरोल, कोल, फुक्रु गाउँ, लिगा, खर्क, वागघोर र तीनटाकुरा लगायत टोलमा बत्ति बल्ने वडाले जनाएको छ । त्यस्तै वडा नम्बर ७ का जैदने, भइटाकुरा, फुक्रुटाकुरा र वागमारे लगायतका टोलमा बत्ति बल्ने छ । विद्युत विस्तारको काम ठेक्का मार्फत चलिरहेको छ ।

अहिले पनि यि ठाउँमा स्थानीय रोलखोला लघु जलविद्युत आयोजनाको बत्ति पुगेको छ । तर सेवा भरपर्दो छैन् । केन्द्रीय प्रशारण लाईनको बिद्युत पुग्यो भने सेवा प्रभावकारी हुने स्थानीयले विश्वास लिएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update