रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । ९ नम्बर वडाको राडी स्थित बालकल्याण माध्यामिक विद्यालयको प्राङ्गनमा आयोजित एक कार्यक्रमकाबीच शिल्डको उद्घाटन भएको हो । कर्णाली प्रदेश सभा सदस्य रातो कामी, नगरप्रमुख गोर्खबहादुर केसी लगायतले पानसमा बत्ति बालेर तथा तीन वटा मैन बत्ति बालेर शिल्ड उद्घाटन गर्नुभएको हो । स्थानीय तह कार्यान्वयन आएपछि नगरपालिकाले यो सहित तेस्रो पटक रनिङ शिल्ड आयोजना गरिएको हो ।
२०७५ सालको जेठमा पहिलो रनिङ शिल्ड ३ नम्बर वडाको हिमालय मावि खदीमा जेठ ७ देखि १४ गतेसम्म पहिलो रनिङ शिल्ड आयोजना गरिएको थियो । २०७७ सालको चैत्र २३ देखि २८ गतेसम्म ४ नम्बर वडाको ज्ञानोदय मावि गोतामकोटमा दोस्रो रनिङ शिल्ड आयोजना भएको थियो । कोरोना भाइरसका कारण २०७६ सालको शिल्ड भने आयोजना हुन सकेको थिएन । शिल्डमा नगरपालिकाका १८ वटा माध्यामिक विद्यालयहरु सहभागि भएका छन् ।
२८ गते सम्म सञ्चालन हुने शिल्डमा राष्ट्रपति रनिङ शिल्ड निर्देशिका २०७० मा उल्लेख भए बमोजिमका सबै खेलकुद समावेश गरिएको शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । विष्टका अनुसार भलिबल छात्रछात्रा, एथ्लेटिक्सतर्फका छात्रछात्रा रिले दौड खेल हुनेछन् । फिल्डतर्फ छात्रछात्रतर्फ उफ्रने र फ्याक्ने, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो, छात्रछात्रतर्फको सटफुट खेल समावेश गरिनेछ ।
नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सन्देश विकको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरपालिका उपप्रमुख गीता नेपाली, वडाध्यक्षहरुको आतिथ्यता रहेको छ । नेकपा एमाले जिल्ला कमिटि रुकुम पश्चिमका सचिवालय सदस्य लालबहादुर बुढा, नेपाली कांग्रेसका नगर सभापति अमृत बोहरा, माओवादी केन्द्रका नगर अध्यक्ष रवि केसी, एकीकृत समाजवादीका जिल्ला सचिव हरिप्रसाद शर्मा, राप्रपाका अशोकजिजंग शाह लगायतको आतिथ्यता रहेको छ । कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी मानबहादुर बटालाले गरिरहनुभएको छ ।