सिस्ने जिल्लाको दुर्गममा पर्छ । सिस्ने गाउँपालिका १, नम्बर वडा सडक सञ्जालमा जोडिएको छैन । अस्थायी सदरमुकामबाट दुई दिनमा यहाँ पुगिन्छ । सडक नै नभएपछि अरु सहज हुने कुरा भएन । कुनै पनि सेवा सुविधाका लागि सिस्नेबासीलाई असजिलै अवस्था छ । दैनिक खाद्य सामग्रीदेखि निर्माण सामग्रीसम्म ढुवानी पिठ्युमै बोकेर गर्नुपर्छ । गाउँमा भएको उत्पादन बजार पुर्याउन पनि पिठ्युको सहारा नभइ हुँदैन ।
शिक्षा, स्वास्थ्य तथा अरु हिसाले पनि सिस्नेलाई पिछडिएको क्षेत्रमा राखिएको छ । समग्र वडाभरीका लागि स्वास्थ्य चौकी छ । यसबाट सर्वसाधारणले आधारभुत सेवा पाइरहेका छन् । सधै आधारभुत सेवा पाइरहेका सिस्नेबासीले यो पटक भने विशेषज्ञ सेवा पाएका छन् । २ दिन सम्म मेडिकल उपकरण सहित विशेषज्ञ डाक्टरले सिस्नेबासीको उपचार गरेका छन् । स्त्री रोग विशेषज्ञ डाक्टर रामकुमार दास र जनरल फिजिसियन फिजिसियन डाक्टर अरविन्दकुमार यादवले दुई दिनमा गरी २ सय ३२ जनाको उपचार गर्नुभएको हो ।
लुम्बिनी प्रदेश सरकारको मुख्य मन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा सिस्ने गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर २ दिन भएपनि सर्वसाधारणका लागि विशेषज्ञ सेवा प्रदान गरेको हो । शिविरबाट १ सय ७० जना महिला र ६२ जना पुरुषले सेवा लिएका छन् । शिविरिमा १ सय १० जनाको ल्याब परीक्षण भएको छ । ४० जनाले गाउँमै भिडियो एक्सरे गरेका छन् । ३ जनाको इसिजी भएको छ । ३ जनाई रिङपेशरी राखिएको छ । ९ जना थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रिफर भएका छन् ।
शिविरमा धेरैजना जोर्नि दुख्ने समस्याका विरामी आएको डाक्टर दासले जानकारी दिनुभयो । यस्तैगरी पूरानो ग्याष्ट्रिक र सामान्य ग्याष्ट्रिकका विरामी भेटिएको डाक्टर दासले बताउनुभयो । दुर्गम भएका कारण हरेक रोगलाई सामान्य रुपमा लिएर बसेकाले केहीमा जटिल समस्या पनि भेटिएको डाक्टर दासले बताउनुभयो । गाउँमै विशेषज्ञ सेवा पाइएपछि खुसी लागेको ३५ वर्षीया पूर्णकुमारी बुढाले बताउनुभयो । सिस्नेमै भिडियो एक्सरे गर्नेगरी सेवा पाइएको उहाँको भनाई छ । भिडियो एक्सरे गर्नका लागि रुकुमकोट पूग्नुपर्ने बाध्यता रहेकाले आफू लामो समयदेखि भिडियो एक्सरै नगरेरै बसेका बेला भएको शिविरले ठूलो राहत भएको बुढाले बताउनुभयो ।
सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले स्थानीय सरकारले सधै सेवा दिने प्रयास गरिरहेको बताउनुभयो । ‘सकेसम्म सेवा दिने प्रयास गरेका छौं, नभए एक पटक त सेवा दिएकै छौं,’ उहाँले भन्नुभयो । लुम्बिनी प्रदेश सरकारको मुख्य मन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा १ नम्बर वडामा विशेषज्ञ सहित २ दिन स्वास्थ्य शिविर गरेको अध्यक्ष बरालले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका अन्य जिल्ला सहित रुकुम पूर्वमा पनि मुख्य मन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, रोजगारी र आयआर्जनका कार्यक्रम भइरहेको कार्यक्रमका जिल्ला संयोजक लिलामणि गौतमले जानकारी दिनुभयो । हरेक वर्ष जिल्लाका स्वास्थ्य शिविर गर्नुपर्ने तालिका अनुसार सिस्ने गाउँपालिकाको १ नम्बर वडामा शिविर सञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको गौतमले बताउनुभयो ।
यही वर्ष भूमे गाउ“पालिकामा पनि यो कार्यक्रम गर्ने तयारी छ । त्यसमा पनि यही कार्यक्रमबाट आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराइने छ । यसका साथै आयआर्जन, रोजगारी सिर्जना र शिक्षा क्षेत्रका विभिन्न पाटा पक्षमा काम गर्दै आएको गौतमले बताउनुभयो । संयोजक गौतमका अनुसार स्वास्थ्य अन्तर्गत स्वास्थ्य शिविर, स्वास्थ्य बीमा, स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य इकाईलाई उपकरण व्यवस्थापन, विशेष अवस्थाका गर्भवतीलाई यातायात खर्च व्यवस्थापनमा यो कार्यक्रम सहयोग गरिरहेको छ ।
शिक्षा अन्तर्गत विद्यालय भर्ना अभियान, शैक्षिक सामग्री, विपन्न, असहायका लागि छात्रावास सञ्चालन, बालमैत्री कक्षाकोठा व्यवस्थापन,स्मार्ट कक्षा कोठा व्यवस्थापन गर्ने गरिएको छ । रोजगार र आयआर्जनमा सिपमूलक तालिम सञ्चालन, तालिमपछि व्यवसाय सञ्चालनका लागि वस्तुगत सहयोग, बेरोजगारलाई रोजगारी सिर्जनाको काम पनि गर्ने गरिएको संयोजक गौतमले बताउनुभयो । यो वर्ष कोरोनाका कारण विदेशबाट आएकाहरुलाई रोजगार सिर्जनाका लागि पनि सहयोग गरिने गौतमले बताउनुभयो ।