कर्णाली प्रदेश सभा सदस्य रातो कामीले शिक्षाको समग्र विकासका लागि स्थानीय सरकारहरुले महत्वपूर्ण काम गरिरहेको बताउनुभएको छ । रुकुम पश्चिमकाे आठबीसकोट नगरपालिकाको तेस्रो रनिङ शिल्ड उद्घाटन गर्दै प्रदेश सभा सदस्य कामीले विकासको मुल आधार शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । विद्यालय शिक्षा भित्र खेलकुद पनि महत्वपूर्ण भएको भन्दै उहाँले रनिङ शिल्डले विद्यार्थीको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख तथा शिक्षा समितिका संयोजक गोर्खबहादुर केसीले रनिङ शिल्ड बालबालिकामा भएको खेलतर्फको क्षमता, कला, कौशल प्रस्तुत गर्ने अवसर भएको बताउनुभयो । नगरपालिकामा शिक्षा क्षेत्रको विकासका लागि हरेक कोण र अभ्यास मार्फत मेहनत गरिरहेको बताउनुभयो । नगरपालिकाले शिक्षा तर्फको भौतिक विकासलाई तिब्रता दिइएको, शिक्षक व्यवस्थापन महत्व दिएको बताउनुभयो ।
नगरपालिकाले अब गुणस्तरीय शिक्षा र उत्पादनमूलक शिक्षामा जोड दिने बताउनुभयो । गुणस्तरीय र उत्पादनमूलक शिक्षा प्रदान गर्न नगरले प्रयास गरिरहे पनि यो चुनौतीपूर्ण भएको नगरप्रम्ुख केसीले बताउनुभयो । ९ नम्बर वडाको राडी स्थित बाल कल्याण माविले यस पटकको रनिङ शिल्ड आयोजना गरेको छ । २८ गते सम्म चल्ने शिल्डमा नगरभरका १८ वटा माध्यामिक विद्यालयहरु सहभागि भएका छन् । २०७५ र २०७७ मा पहिलो र दोस्रो रनिङ शिल्ड आयोजना गरेको नगरले यो वर्ष तेस्रो रनिङ शिल्ड आयोजना गरेको हो । कोरोनाका कारण २०७६ सालको शिल्ड भने आयोजना गरिएन ।