रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा जिल्लामा पहिलो स्थानमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनमा जिल्लाका ६ वटा स्थानीय तहमा ६९.३१ अंक हाँसिल गर्दै सानीभेरी पहिलो भएको हो । आयोगले विभिन्न १७ वटा सूचकमा मुल्यांकन गरेको सानीभेरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपालसिंह बिष्टले जानकारी दिनुभयो । संघीय सरकारबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान यसै आयोगको सिफारिसमा वितरण गरिन्छ ।
यसैक्रममा आयोगले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि स्थानीय तहको अवस्थालाई मुल्यांकन गरेर अंक प्रदान गरेको हो । जसमा रुकुम जिल्लामा सानीभेरी पहिलो नम्बरमा देखिएको छ । दोस्रोमा चौरजहारी नगरपालिका छ । उसले ६८.१७ अंक पाएको छ । आठबीसकोट नगरपालिकाले भने सबैभन्दा कम ५२.९२ अंक मात्र पाएको छ । त्यस्तै बाँफिकोट गाउँपालिकाले ६३.०५, मुसीकोट नगरपालिकाले ५६.४४ र त्रिवेणि गाउँपालिकाले ५४.८३ अंक पाएको छ । बजेट खर्चको अवस्था, सूचना सार्वजनिक लगायतका कार्य सम्पादन १७ वटा सूचकका आधारमा स्थानीय तहलाई नम्बर दिईएको आयोगले जनाएको छ ।
यसैविच रुकुम पूर्वका २ वटा स्थानीय तहले रुकुम पश्चिमका स्थानीय तहको भन्दा बढी अंक पाएका छन् । जिल्लामा भूमे गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ । उसले ७३.७९ अंक पाएको छ । जिल्लामा दोस्रो बनेको सिस्ने गाउँपालिकाले ७१.६९ अंक पाएको छ । पुथाउत्तरगंगा गाउँपालिकाले भने ५१.९८ अंक पाएको छ ।