फागुन २५ गते बुधबार रुकुम पश्चिम बन्द हुने भएको हो । रुकुम पश्चिममा सवारीका साधन चल्न नदिइने भएको हो । बस दुर्घटनामा परेर मृत्यु भएकाका आफन्त र घाइतेहरुले क्षेतीपूर्ति पाउनुपर्ने माग गर्दै सवारीका साधन चल्न नदिने जनाएका हुन् । आज एक विज्ञप्ती जारी गर्दै पटक पटक माग र आग्रह गर्दा पनि वेवास्ता भएपछि आन्दोलन गर्न बाध्य भएको उनिहरुको भनाई छ ।
गत मंसिर २० गते मुसीकोट नगरपालिका २, मा भएको बस दुर्घटनामा मृत्यु भएकाका आफन्त र घाइतेहरुले यातायातका साधन चल्न नदिने जनाएका हुन् । घटनामा १ जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए । मृतकलाई क्षेतीपूर्ति तथा घाइतेहरुको उपचारमा वेवास्ता गरिएपछि आन्दोलनको विकल्प नभएको उनिहरुले बताएका छन् । सिस्ने हिमाल यातायात प्राली र चालकलाई सम्पर्कमा नल्याएको, कानूनी कारबाहीको प्रक्रिया समेत नथालिएको भन्दै उनिहरुले सवारी साधन बन्द गर्न लागेको जनाएका हुन् ।
यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएर सवारी साधन बन्द गर्न लागेको उनिहरुको भनाई छ । २५ गते सुरु भएको आन्दोलन अनिश्चितकालसम्म चल्ने उक्त सूचनामा उल्लेख गरिएको छ । टेकबहादुर बस्नेत, भानु केसी, चोपबहादुर केसी, कालिबहादुर महतारा, शुशिल थापा, मोहन केसी, विरवल केसी लगायतले सूचना जारी गर्दै सवारीका साधन नचल्ने र नचलाएर सहयोग गर्न अनुरोध गरेका छन् ।