Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा अनिश्चितकालिन यातायात बन्द
सडक बन्द गराउन निस्केकाहरु ।

रुकुम पश्चिममा अनिश्चितकालिन यातायात बन्द गरिएको छ । आज विहानैबाट जिल्ला सदरमुकाममा सवारीका साधन चलेका छैनन् । सदरमुकामबाट बाहिर जाने र भित्रिने सवारीका साधन चलेका छैनन् । आफूहरुका माग सम्बोधन गर्न वेवास्ता गरिएको भन्दै बस दुर्घटनाका मृतकका आफन्त तथा घाइतेहरुले सवारी साधन बन्द गराएका हुन् ।

गत मंसिर २० गते मुसीकोट नगरपालिका २, मा भएको बस दुर्घटनामा परी मृत्यु भएकाका आफन्तले क्षेतीपूर्ति पाउनुपर्ने तथा घाइतेहरुको उपचार खर्च सम्बन्धित समितिले व्यहोर्नुपर्ने माग राखेर सवारी सञ्चालनमा रोक लगाइएको हो । उक्त दुर्घटनामा परी १ जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए । कतिपय घाइतेलाई धेरै चोट लागेर महंगो उपचार गराएका छन् ।

दुर्घटनामा परेको बसको चालक, बस चलाउने समिति कोही पनि प्रहरीको नियन्त्रणमा छैनन् । दुर्घटनापछिको कुनै पनि प्रक्रिया प्रहरीले नथालेको भन्दै उनिहरु आक्रोशित छन् । फागुन २० गते प्रमुख जिल्ला अधिकारीलाई यस विषयमा ध्यानाकर्षण गराएका उनिहरुले आजबाट भने सवारी साधन नै चल्न दिएका छैनन् ।

दुर्घटनाका घाइते टेकबहादुर बस्नेतले आफूहरुका माग सम्बोधन नभएसम्मका लागि आन्दोलन जारी रहने बताउनुभयो । दुर्घटना भएको लामो समयसम्म पनि खास वास्ता नभएपछि आन्दोलनमा आउन बाध्य भएको बस्नेतको भनाई छ । अर्का घाइते शुशिल थापाले दुर्घटनापछि गर्नुपर्ने कुनै पनि कानूनी प्रक्रिया सुरु नगरेको, पीडित माग सम्बोधनमा वेवास्ता गरिएकाले आन्दोलन गर्नु परेको बताउनुभयो । आन्दोलन गर्नु रहर नभइ बाध्यता भएकाले माग सम्बोधनका लागि तत्काल पहल गर्न प्रहरी,प्रशासनसँग उहाँले आग्रह समेत गर्नुभएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update