गत मंसिर २० गते भएको बस दुर्घटनाका पीडित र बस मालिक तथा यातायात समितिबीच सहमति भएको छ । जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा पीडितहरुलाई क्षेतीपूर्ति दिने गरी सहमति भएको हो । सिस्ने हिमाल यातायात प्राली, बसका दुई जना मालिकले पीडितलाई क्षेतीपूर्ति वापत ९/९ लाख रुपैयाँ दिने सहमति भएको हो ।
प्रालीले ९ लाख, बसका पहिलाका मालिक महेन्द्र गौतमले ९ लाख र बस किनेर पछि चलाएका जीवन पौडेलले ९ लाख गरी २७ लाख रुपैयाँ पीडित पक्षलाई दिने गरी सहमति भएको कागजमा तीन पक्षले हस्ताक्षर गरेका छन् । आगामी ४५ दिन भित्र यो रकम बुझाई सक्ने गरी कागज भएको छ । सहमति भएपछि सवारी साधन पनि चल्न थालेका छन् ।
बस दुर्घटना भएको लामो समय सम्म क्षेतिपूर्ति नपाएको भन्दै पीडितले विहानदेखि आन्दोलन सुरु गरेका थिए । आन्दोलन अन्तर्गत पहिलो दिन सवारी साधन चल्न दिएका थिएनन् । मुसीकोट नगरपालिका १ बाट जन्ती लिएर बाँफिकोट गाउँपालिका २, गई फर्कने क्रममा मुसीकोट नगरपालिका २, को बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको थियो ।
दुर्घटनामा परी बुदु खड्काको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए । पीडित पक्षले आन्दोलन गरेर सवारी साधन नै चल्न नदिएपछि जिल्ला प्रहरी कार्यालयमा छलफल सुरु भएका थियो । राजनीतिक दल, प्रहरीको रोहबरमा छलफल भएको थियाे ।छलफलको क्रममा क्षेतीपूर्ति पाउने सहमति भएकाे साेही दुर्घटनाका घाइते मुसीकोट नगरपालिका १ का अध्यक्ष विरवल केसीले जानकारी दिनुभयो । ४५ दिन भित्र क्षेतीपूर्ति नपाएपछि फेरि थप आन्दोलन गर्ने गरी यस पटकको आन्दोलन फिर्ता लिइएको वडाध्यक्ष केसीले बताउनुभयो ।