सिस्ने गाउँपालिका ५, रुकुमकोटमा रहेको कमलदह संरक्षण र व्यवस्थापनका थप योजना बनाइएको छ । सिस्ने गाउँ कार्यपालिकाले यसको संरक्षण र व्यवस्थापन गर्नका लागि कार्यविधि स्वीकृत गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले कमलदह संरक्षण र व्यवस्थापन गर्न बनेको कार्यविधि २०७७ स्वीकृत गरेको हो । कार्यविधि अनुसार अब संरक्षणका लागि एउटा कार्यपालिकाले नै एउटा संरक्षण तथा समिति बनाउने छ । कमलदहको आम्दानी कमलदहकै संरक्षण प्रद्र्धनमा खर्च गर्ने गरी कार्यविधि तयार भएको छ ।
कार्यविधि अनुसार कमलदहको कुल आम्दानीमध्य ८० प्रतिशत समितिकै खातामा जम्मा हुने छ भने २० प्रतिशत गाउँपालिकामा जम्मा गर्ने गरी कार्यविधि पारीत भएको कार्यपालिका प्रवक्ता जीवन केसीले जानकारी दिनुभयो । प्रवक्ता केसीका अनुसार ८० प्रतिशत बजेट परिचालनका लागि पनि कार्यपालिकाको निर्णय भने आवश्यक पर्ने छ । कार्यविधि निर्माणका लागि यस बामदेव गौतमको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएको थियो । गाउँपालिकामा प्राप्त विशेष अनुदानबाट खाद्य सुरक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।
यसका लागि १ नम्बर वडाको लाम्पाखा, २ नम्बर वडाको सुद्री, ४ नम्बर वडाको नमूना वस्ती ढाँका, ५ नम्बर वडाको दुदिल्लागैरा र ८ नम्बर वडाको स्यालापाखा वस्ती छनौट गरिएको छ । यि वस्तीमा खाद्य सुरक्षा, पोषण तथा अरु सचेतनामूलक कार्यक्रम सञ्चालन हुनेछन् । कार्यपालिका बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सबै वडाबाट योजना छौट गरेर गाउँसभापमा पेश गर्ने निर्णय गरेको छ । बुधबार हुने गाउँसभामा ८ वटा वडाका २६ योजना पेश हुनेछन् ।
कार्यपालिकाको निर्णय अनुसार गाउँ सभामा पेश हुने योजना गाउँसभाबाट पास गरेर कार्यान्वयनमा जाने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा सिस्ने गाउँपालिकामा एक करोड ४४ लाख २५ हजार बजेट प्राप्त भएको छ । यही कार्यक्रम अन्तर्गत मर्मतका लागि छुट्टै ५१ लाख ७० हजार बजेट प्राप्त भएको छ । कार्यपालिका बैठकले चालु आर्थिक वर्षको हालसम्म गरेका गतिविधि, कार्यक्रम तथा योजना, आयोजनाको सार्वजनिक सुनुवाई आगामी माघ १५ गते भित्रै गरीसक्ने निर्णय पनि गरेको छ ।