Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रभासले राखेकाे पहिलो विश्व रेकर्डको प्रमाणपत्र आयो 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ११ का मानसिंह ओली ‘प्रभास’ले कायम गरेको विश्व रेकर्डको प्रमाण पत्र आइपुगेको छ । गतवर्षको फागुनमा बनाएको विश्व रेकर्डको प्रमाणत्रप एक वर्षपछि आईपुगेको हो । ओलीले १ किलो २ ग्रामको गिनिज वुक अफ वल्र्ड रेकर्डको किताव ३ घण्टा ४० मिनेट औलामा घुमाएर विश्व रेकर्ड राख्नुभएको थियो । तीन दिन अगाडी प्रमाणपत्र आईपुगेको र बुधबार आफुले ग्रहण गरेको ओलीले बताउनुभयो । अर्डर नाओका चिफ अप्रेटिङ अफिसर विजय प्रसाईंले ओलीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । यस अघि यो रेकर्ड नेपालकै गौरवराज घिमिरेको नाममा थियो । घिमिरेले २०१९ मा उक्त रेकर्ड राख्नुभएको थियो । 

यसैविच २१ वर्षिय ओलीले तीन वटा विश्व रेकर्ड बनाईसक्नुभएको छ । बाँकी दुई वटा रेकर्डको प्रमाणपत्र आउन बाँकी रहेको ओलीले बताउनुभयो । उहाँले यो रेकर्ड पछि एकै पटक दुई वटा रेकर्ड बनाउनुभएको थियो । गत असोज ४ गते काठमाडौंमा बनाएको एउटा रेकर्ड हो सबैभन्दा लामो समय प्लेट हातको औंलामा घुमाउने र अर्को गिनिज बुक अफ वल्र्ड रेकर्डको किताब एक मिनेटमा सबैभन्दा बढी पटक फन्को लगाउने । उहाँले ४ घण्टा ४ मिनेट ४४ सकेण्डसम्म प्लेट औंलामा घुमाउनुभएको थियो । यसअघि यो रेकर्ड भारतका हिमान्सु गुप्ताको नाममा थियो । उनले २ घण्टा १० मिनेट ४ सकेण्डमा यो रेकर्ड राखेका थिए । 

प्रमाण पत्र ग्रहण गर्दै ओली ।

त्यस्तै ओलीले गिनिज बुक अफ वल्र्ड रेकर्डको १२ सय ग्राम तौल भएको किताब हातको औंलामा एक मिनेटमा ३ सय ५३ फन्को घुमाएर आफ्नो नाममा अर्को रेकर्ड राख्नुभएको छ । यो रेकर्ड नेपालकै राजन घिमिरेको नाममा थियो । उहाँले एक मिनेटमा ३ सय १५ पटक किताब घुमाएर रेकर्ड राख्नुभएको थियो । आफ्नो पहिलो रेकर्डको प्रमाणपत्र हातमा परेपछि ओलीले खुशि व्यक्त गर्नुभयो । आधिकारिक प्रमाणपत्र आएपछि आफुलाई गर्वको महशुस भएको उहाँले प्रतिक्रिया दिनुभयो । अव बाँकी दुई प्रमाणपत्रको प्रतिक्षामा रहेको उहाँले बताउनुभयो ।  

 

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update