रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर २ को सहिद स्मृति प्रतिष्ठानको सभा हल सिम्रुतुमा ५ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सुरु भएको छ । जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य टेकबहादुर ओलीले दिप प्रज्वल्न तथा ब्यानर पढेर तालिमकाे उद्घाटन गर्नुभयो ।
त्रिवेणि गाउँपालिकाको आर्थिक सहयोगमा प्रेस सेन्टर नेपाल त्रिवेणि गाउँपालिकाले तालिमको आयोजना गरेको हो । तालिममा गाउँपालिकाका १० वटै वडाबाट सहभागिता रहेको प्रेस सेन्टर त्रिवेणिले जनाएको छ । प्रेस सेन्टर त्रिवेणिका अध्यक्ष कुबेर ओलीको अध्यक्षतामा तालिम उद्घाटन कार्यक्रम भएको हो ।
कार्यक्रममा माओवादी केन्द्रका त्रिवेणि गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्का, सचिव चन्द्रबहादुर खड्का, वाइसीयलका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज लक्ष्मण ओली, त्रिवेणि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुन, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मेगराज खडका, जिल्ला अध्यक्ष हरि गौतम, मुसिकोट नगरपालिकाका अध्यक्ष दिपेन्द्र महतारा, चौजहारी नगरपालिकाका अध्यक्ष तिलक ओली लगायतको उपस्थिति रहेको थियो ।
प्रेस सेन्टर नेपाल त्रिवेणिका कोषाध्यक्ष बलेन्द्र ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव गोपाल ओलीले गर्नुभएको थियो । तालिम फागुन ३० गते सम्म संचालन हुने छ ।