रुकुम पूर्वको सिस्ने गाउँपालिका २ मा सकेट बम फेला परेका छन् । वडाको वुर्किसल्लामा १ दर्जन बढी सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । गोठालो गएका स्थानीले बिहिबार दिउँशो बम फेला पारेको उहाँले बताउनुभयो । ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएका बम फेला परेको उहाँको भनाई छ । उक्त बम द्धन्दकालमा लुकाईएको अनुमान गरिएको उहाँले बताउनुभयो । माओवादीको प्रभाव क्षेत्र भएकाले माओवादी लडाकुहरुले उक्त बम राखेको हुनसक्ने अनुमान गरिएको हो ।
ड्रममा थुप्रो पारेर राखिएकाले ठ्याक्कै कतिवटा बम छन् भन्ने एकीन हुन नसकेपनि बाहिरबाट हेर्दा १ दर्जन बढी हुनसक्ने वडाध्यक्ष केसीले बताउनुभयो । बम डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थल तर्फ गएको वताईएको छ । वडाध्यक्ष केसीले बिहान ९ बजेसम्म सेनाको टोली पुग्ने जानकारी पाएको बताउनुभयो । घटनास्थलका बारेमा जिल्ला प्रहरी कार्यालय, प्रशासन, नेपाली सेनालाई हिजै गराईसकिएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले बम डिस्पोज गर्न सेनाको टोली जादै गरेको र इलाका प्रहरी कार्यालय प्वाङको टोली घटनास्थलमै रहेको बताउनुभयो । बम भेटिएको जानकारी पाएपछि वडाध्यक्ष केसी, इलाका प्रहरी कार्यालय नायगाड लगायतको टोली घटनास्थलमा पुगेको थियो ।