सिस्ने गाउँपालिकामा जन्मने हरेक छोरीले ५ हजार पाउने भएका छन् । सिस्ने गाउँ कार्यपालिकाले गाउँपालिकामा जन्मने हरेक छोरीलाई ५ हजार को बीमा गरिदिने भएको हो । तर यो नगद सोझै नभइ खाता मार्फत गरिने भएको हो । मंगलबार बसेको कार्यपालिका बैठकबाट हरेक छोरीको खाता खोलिदिने र सोही खातामा ५ हजार जम्मा गर्ने निर्णय भएको हो । त्यो बीमाको रुपमा रहनेछ ।
तर यो बीमा हुनका लागि छोरीका अभिभावकले निश्चित प्रक्रिया भने अनिवार्य पूरा गर्नुपर्ने छ । छोरी जन्मनु अगाडी ४ पटक गर्भजाँच गरेको, स्वास्थ्य संस्थामै गएर सुत्केरी भएको र जन्मेको ३५ दिनभित्र छोरीको जन्मदर्ता गरेको हुनुपर्ने छ । यि सबै प्रक्रिया पुगेर वडाबाट सिफारिस आएपछि छोरी खाता खोलेर ५ हजार रुपैयाँ बीमा वापत छोरीकै खातामा जम्मा गरिदिने गरी निर्णय भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो । यो रकम छोरी २० वर्ष नपुगेसम्म निकाल्न भने पाइनेछैन ।
मुद्दती खातामा रहने यो रकम छोरी २० वर्ष पुगेपछि निकाल्न पाइने छ । बाल विवाह रोक्ने, छोरीको पढाइलाई निरन्तरता दिने र भ्रुण हत्या न्युनिकरणको उद्देश्य सहित छोरी बीमा गर्ने निर्णय भएको अध्यक्ष बरालले बताउनुभयो । यसबाट नियमित गर्भ जाँच, अस्पतालमै गएर सुत्केरी हुनेहरुको संख्या बृद्धि भएर मातृ तथा शिशु मृत्युदार घट्ने अपेक्षा पनि गरिएको अध्यक्ष बरालको भनाई छ । गत साउन यता जन्मेका र चालु आर्थिक वर्षभित्र जन्मने अरु सबै छोरीको यो बीमा गरिने छ । हाल यसको लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने आवश्यक परे थप बजेट पनि व्यवस्थापन गरिने अध्यक्ष बरालले बताउनुभयो ।