रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ को वुर्किसल्लामा फेला परेका सकेट बम डिस्पोज गरिएको छ । नेपाली सेनाको नरसिंह दल गण सुरक्षा गुल्म रुकुम पूर्वको टोलीले आज दिउँशो बम डिस्पोज गरेको हो । सेनानी बावुलाल जिसी नेतृत्वको ११ जनाको टोलीले बम डिस्पोज गरेको प्रहरीले जनाएको छ । गोठालो गएका स्थानीयले बिहिबार बम फेला पारेका थिए । ओढारमुनि ड्रममा राखिएको अवस्थामा बम फेला परेका थिए । २ वटा बम भने ड्रम बाहिरै थिए ।
करिब १ दर्जन बम हुनसक्ने र सबै बम डिस्पोज गरिएको रुकुम पूर्वका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सबै बम पड्किने अवस्थामा थिए । डिस्पोज गर्दा ठुलो आवाजमा बम पड्किएको सेनानी बाबुलाल जिसीले बताउनुभयो । २ चरणमा गरी सबै बम डिस्पोज गरिएको उहाँले बताउनुभयो । २ वटा खुला रुपमा बाहिरै रहेको र ड्रम भित्र ठ्याक्कै कति बम थिए भन्ने एकीन हुन नसकेपनि सबै गरेर करिब १ दर्जन बम रहेको हुनसक्ने अनुमान गरिएको छ ।
यि बम जनयुद्धकालिन हुनसक्ने अनुमान गरिएको छ । माओवादीको प्रभाव क्षेत्र भएकाले माओवादी लडाकुहरुले उक्त बम युद्धकालमै त्यहाँ छाड्को हुनसक्ने अनुमान गरिएको सिस्ने गाउँपालिका २ नम्बर वडा अध्यक्ष जीवन केसीले बताउनुभयो ।