Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रिय परिचय पत्रका लागि विवरण टिपाउनेको भिड 
राष्ट्रिय परिचय पत्रका लागि विवरण टिपाउन मुसीकोट नगरपालिका १० को वडा कार्यालयमा जम्मा भएका नागरिकहरु ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको कार्य जारी छ । नगरपालिकाका १४ वटै वडामा विवरण संकलन भइरहेको छ । मुसीकोट नगरपालिका वडा नम्बर १ र ५ बाट फागुन १९ गते देखि विवरण संकलन अभियान सुरु भएको थियो । हाल भने नगरपालिकाका १४ वटै वडाबाट विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । 

केही वडामा ५० प्रतिशत भन्दा बढी विवरण संकलनको काम भइसकेको उहाँले बताउनुभयो । विवरण टिपाउनका लागि नागरिकहरुको आकर्षण राम्रो देखिएको छ । दैनिक वडा कार्यालयमा विवरण भर्न आउनेहरुको भिड देख्न सकिन्छ । राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गर्न लागिएको र वडामै विवरण संकलन गर्न सुरु भएपछि वडावासीहरु विवरण टिपाउन वडा कार्यालयमा पुगिरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । 

राष्ट्रिय परिचय पत्रका लागि विवरण टिपाउन मुसीकोट नगरपालिका १० को वडा कार्यालयमा जम्मा भएका नागरिकहरु । 

अव क्रमशः जिल्लाका अन्य स्थानीय तहमा पनि विवरण संकलन सुरु हुने उहाँले बताउनुभयो । उहाँका अनुसार भोली देखि बाँफिकोट गाउँपालिकामा विवरण संकलन सुरु हुने छ । आज यससम्बन्धीको अभिमुखिकरण संचालन गरिएको र भोली वडा नम्बर ४ देखि विवरण संकलन सुरु हुन लागेको उहाँको भनाई छ । 

यसअघि देखि नै जिल्ला प्रशासन कार्यालयबाट मात्र परिचयपत्रका लागि विवरण संकलन भइरहेकामा अव भने वडा कार्यालयबाटै अभियानका रुपमा विवरण सुरु भएको हो । अभियानका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट दर्ता अपेरटर परिचालन भएका छन् । रुजु अधिकारीको जिम्मा सम्वन्धित वडा सचिवलाई दिईएको छ । त्यस्तै एक जना स्वयंसेवक खटाईएको छ । प्रत्यक वडामा कम्तिमा ४ जनासम्म कर्मचारी खटिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update