Kakhara सबैको खबर सम्पूर्ण खबर
शिक्षकको माग गर्दै नगरपालिका घेराउ
नगरपालिका कार्यालय घेराउ गरिरहेका विद्यार्थिहरू ।

मंगलबार आठबीसकोट नगरपालिकाको कार्यालय घेरियो । विद्यार्थीहरुले नै नगरपालिकाको कार्यालय घेराउ गरे । पठन पाठनमा लापरबाही भएको भन्दै जुलुस सहित आएका विद्यार्थी केही समय नगरपालिका घेरेर फर्किए । ९ नम्बर वडाको बालकल्याण माध्यामिक विद्यालयका विद्यार्थी नगरपालिका घेराउका लागि सोही वडामा रहेको नगरपालिकाको कार्यालय पुगेका थिए ।

विषयगत शिक्षक अभाव भएको, काजमा ल्याइएका शिक्षकको काज फिर्ता गर्नुपर्ने, काजमा खटाइएका शिक्षकको पनि काज फिर्ता गर्नुपर्ने माग विद्यार्थीले गरेका छन् । बार्षिक परीक्षा नजिकिदै गर्दा पनि समस्या भएको भनेर विद्यार्थी नगरपालिका सम्म पुगे । विद्यालयको समस्याबारे नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखालाई जानकारी गराएका छन् ।

६ कक्षादेखि १० सम्मका विद्यार्थी दिउँसो विद्यालय छाडेर नगरपालिका पुगेका थिए । विद्यार्थी भनेजस्तो समस्या विद्यालयमा छ । विषयगत शिक्षकको अभाव विद्यार्थीले महशुस गरेका छन् । विद्यालयको समस्य समाधानका लागि भएका प्रयास सफल हुन नसकेपछि समस्या भएको जनाइएको छ । म्याग्दीको एक विद्यालयमा कार्यरत एक शिक्षकलाई यो विद्यालयमा सरुवा गरेर ल्याउने तयारी थियो । उक्त काम संघीय सरकारका कारण हुन सकेन । केही दिन अघि मात्रै संघीय सरकारले शिक्षकको अन्तर जिल्ला सरुवा रोकेको छ ।

यही कारण आठबीसकोट घर भएर म्याग्दीमा कार्यरत ति शिक्षकको सरुवा नभएको र काजमा आएका अर्का शिक्षकको काज फिर्ता भएपछि समस्या भएको नगरपालिकाले जनाएको छ ।नगर शिक्षा समितिका संयोजक एवं नगरप्रमुख गोर्खबहादुर केसीले यस विषयमा नगरपालिका जानकार रहेको र समस्या समाधानमा लागि परेको बताउनुभयो । ५ गते बस्ने कार्यपालिका बैठकले यो समस्या समाधानको टुंगो लगाउने नगरप्रमुख केसीले बताउनुभयो । 

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update