Kakhara सबैको खबर सम्पूर्ण खबर
कम्रेड दिलमायाको संघर्ष ! जस्ले प्रचण्ड र बाबुरामहरुलाई रुवाएको थियो 

२०६२ असोज ५ गते रुकुमको चुन्वाङमा आयोजित तत्कालीन नेकपा माओबादीको केन्द्रिय समितिको पूर्ण बैठक संगै माओबादीको केन्द्रिय साँस्कृतिक विभागले पनि साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । कार्यक्रममा युद्ध मैदानबाट फर्किँदा भन्ने ओपेरा प्रस्तुति भित्रको एउटा भागमा साँच्चैको आफ्नै दुधेबालक (छोरी) बोकेर लडाईमा शहिद भएका आफ्नो श्रीमानको खबर लिएर आउँने लालसेनाहरुलाई उल्टै गीत र अभिनय मार्फत जीत्नै पर्छ यो अन्तिम लडाईँ तिमीले लडेर ! फाटेका आङहरु रोएका मनहरु बसेका छन् नयाँ दिन पर्खेर !! भन्दै सुझाव दिए पछी त्यहाँ लाईभ दृश्य हेरीरहेका प्रचण्ड, बाबुराम लगायत उच्च तहका नेता, कार्यकर्ता र हज्जारौं जनमुक्तिसेनाहरु धुरुधुरु रोएका थिए । उक्त भिडीयोको अंश आज पनि थुप्रै पटक सामाजिक संजालतिर छर्पष्ट देख्न सकिन्छ र लाखौँले हेर्ने र शेयर गर्ने गर्छन् । त्यो एउटा अभिनयको दृश्य भएपनि वास्तवमै जीबन्त अभिनय थियो । अभिनयकर्ता कलाकार दिलमाया रोका मगर क. दिपा लगायत जनयुद्धमा लामबद्ध लाखौँ योद्धाहरुको यथार्थको प्रतिबिम्ब थियो । उक्त कार्यक्रमको बखत कम्रेड दिपाको श्रीमान शहिद हुनुभएको करिब ५/६ महिना मात्रै भएको थियो । त्यसकारण पनि त्यो कुनै अभिनय नभई आफ्नै वेदना पोखिरहेको भान हुन्थ्यो दिपालाई । अझ प्रष्ट भाषामा भन्नु पर्दा एउटा विधुवा भएको नारीले तात्तातो अवस्थामै आफ्ना आँशु पीरहरु पचाएर क्रान्तिकारी मन सहित आफ्नी प्यारी सन्तान बोकेर त्यो खालको प्रस्तुति दिनु चानचुने हिम्मत थिएन ।

शान्तिप्रक्रिया पछी पार्टीमा विभिन्न उतारचढावहरु आए । पार्टी जुट्ने र फुट्ने प्रक्रिया चल्दै आयो । जनयुद्धका क्रममा पार्टीको एउटा अभिन्न अंगको रुपमा चलेको साँस्कृतिक क्षेत्र र त्यस क्षेत्रमा सक्रिय र आबद्ध पात्रहरुमा पनि यो प्रवृति अछुट रहेन । धेरैले त कलाकारिता र पार्टीमा जाँगर मारेर साधारण जीबन शुरु गरे । त्यो एउटा बाध्यता पनि भयो उहाँहरुको । धेरैले त आफ्नो जिन्दगी यता न उताको पार्दिएको भन्दै पार्टी र नेतृत्वलाई सरापेर भौतारीरहे, आजपर्यन्त पनि त्यो गुनासो गर्ने कयौँ कम्रेडहरु भेटिन्छन् । तर दिपा कम्रेडले ति कुनै काम गर्नु भएन जो अरुले गरे । बरु उहाँले एकातिर पार्टीको सम्पर्कलाई हरहर छिन्नेगरी टुटाउँनु पनि भएन भने एकातिर निजी जीबन चलाउँने एउटा विकल्प खोजीएन भने अब बाँच्न र चल्न सकिन्न भन्ने समयको यथार्थलाई पनि बोध गर्नुभयो । त्यसको लागी सबभन्दा शुरुमा त दिपाले आफ्नो निम्न माध्यमिक तहको शैक्षिक यात्रालाई पूनर्जागृत गर्नुभयो । समय चलिरह्यो आरोप-प्रत्यारोपको खेल खेल्नेहरु खेलिरहे तर कम्रेड दिपा निरन्तर आफ्नो शैक्षिक यात्रामा अघि बढीरहनुभयो । सँग सँगै अन्य जीबन धान्ने विभिन्न बाटाहरु पनि खोजीरहनुभयो । उहाँले एसएलसी उत्तिर्ण गर्नुभयो । प्लस टु पनि उत्तिर्ण गर्नुभयो । यो बिचमा कम्प्युटर कोर्स पनि अध्ययन गर्नुभयो । उहाँ सुनाउँनु हुन्छ-म मेरो शैक्षिक यात्रा पुरा गर्न यति कठोर भएर लागेँ कि जनयुद्धताकाको भन्दा कडा मिहेनतले घोटिनु पर्यो । फरक यति हो ऊ बेला कतिखेर मरिन्छ भन्ने टुङ्गो थिएन तर यतिबेला मर्नेको चिन्ता छैन !

जनवादी अनुशासन र निति नियममा चलेर आएको नाताले कक्षामा गुरुले भनेको सिकाएको हरेक बिषयबस्तुहरुलाई टिपोट गर्ने र ध्यान केन्द्रित गरेर दिमागमा सेट गर्ने बानीले उनको अध्ययनमा ठुलो मद्दत गर्यो र नसोँचेको शैक्षिक सफलता प्राप्त गर्दै आउनुभयो । आफु भन्दा साना नानीबाबुहरु संग कक्षामा बसेर पढनुपर्दा शुरुमा अप्ठेरो भएको अनुभव दिपा सुनाउँनुहुन्छ । तर आफ्नो वास्तविक पृष्ठभूमि कहिल्यै कसैलाई नसुनाएको कुरा पनि स्पष्ट पार्नुहुन्छ । पछिल्लो समय त्यही चुनवाङको भिडियो युट्युबमा भाईरल भएपछी कक्षाका साथीहरुले त्यो नाच्ने मान्छे त तपाईँ नै हो दरुस्तै तपाई जस्तो छ भनेर भन्दा म होईन म जस्तै अरु कोही होलान् भनेर टार्दै आउनुभएको रहेछ ।

पछिल्लो समय दिपाले बोर्डिङ् स्कुलमा शिक्षिकाको काम गर्दै आउनुभएको रैछ । त्यै क्रममा २०७४ सालको चुनावको लहर चल्यो । जिल्ला पार्टीले प्रदेशसभा सदस्यको उम्मेदवारको रुपमा उहाँलाई सिफारिस गर्ने कुरा गर्यो । शिक्षिका भएर आफ्नै संसारमा रमाईरहनुभएकी दिपाले अचानक आफुले नसोँचेको नखोजेको खबर पाउँदा शुरुमा त अस्विकार गर्नुभयो । तर घर पुगेर सोँच्दा पार्टी र क्रान्तिमा हिडेको, लडेको र भोगेको सबै दिनहरु सम्झिँदा उहाँको रगत तात्तियो । तब उहाँले हैन म चुप लागेर हराउँनु हुन्न, समयको माग पनि छ म लाग्नु पर्छ गर्नु पर्छ भन्ने सोँच्नुभयो । र फोन गरेर सम्बन्धित कम्रेडहरुलाई आफु उम्मेदवार बन्न तयार रहेको जानकारी दिनुभयो । यसक्रममा जिल्ला पार्टीको नेतृत्वले एकचोटी पार्टी नेतृत्व सँग पनि भेट्नु पर्छ भनेर उहाँलाई काठमांडौ लिएर गयो ।

तर प्रचण्डसंग भेट भएन । प्रचण्ड राजधानी वाहिर रहेको र एकदिन पर्खे उहाँसंग भेट्न सकिने प्रचण्ड निवासले दिपालाई जानकारी दियो तर उहाँले पर्खन सक्नुभएन् । कारण उहाँको मनमा अझै पनि शिक्षिकाको भुतले ठाउँ छोडेको थिएन । उहाँलाई नेता हुनु भन्दा त्यतै मजा आईरहेको थियो । स्कुलका हरेक बच्चाहरु दिपा मिस भनेपछी हरणखरण गर्थे, सबैले घेर्थे । बच्चाहरुले उहाँको प्रशंसा गरेर अभिभावककोमा बोल्ने हुँदा हरेक अभिभावकले पनि दिपालाई माया गर्थे, सम्मान गर्थे । जनयुद्धमा जनताको माया पाए जस्तै गाउँमा विद्यार्थी र अभिभावकको माया बटुल्न सफल दिपालाई नेता हुन अझैपनि साँच्चै अन्तरमनबाटै जाँगर आईरहेको थिएन । यसर्थ उहाँ भए पनि ठिक छ नभए वनि ठिक छ भन्ने दोबाटोमा हुनुहन्थ्यो । तर उहाँले प्रचण्ड सँग नभेटे पनि बर्षमान पुन अन्नत सँग भेट्नु भयो । अनन्तले पनि तपाई जसरी पनि हुनुपर्छ ! म अध्यक्ष सँग कुरा गर्छु फोन नम्बर छोड्नुस् १ भनेर बचन दिनु भएको रहेछ ।

नभन्दै उहाँ फर्केर बाग्लुङ घर पुगेको दुई दिनमै एउटा अपरिचित नम्बरबाट फोन आयो र उठाउँदा सन्चै हुनुहुन्छ ? मलाई चिन्नु भो ? भन्ने आवाज आयो र त्यो आवाज प्रचण्डको थियो । प्रचण्डले समानुपातिकबाट हाम्रो उम्मेदवार तपाई नै हो । अब चुनाव प्रचारमा दह्रो सँग लाग्नुस् भनेको सम्झना सुनाउनुहुन्छ उहाँ । आफु उम्मेदवार हुने पक्का भएपछी बल्ल दिपाले अध्यापन कार्यलाई औपचारिक रुपमा विदा गर्न गर्नुभयो । उहाँको विदाईको क्रममा विद्यार्थी र विद्यालय परिवार निकै भावुक बनेका थिए । विदा गर्न कन्जुस् गरीरहेका थिए । र भनेका थिए कतै तपाई चुनाव हार्नुभयो भने र फेरी अध्यापन गर्छु भन्ने सोँच्नु भयो भने हाम्रो ढोका सँधै खुला छ आउँनु होला ! यो बिर्सनै नसकिने माया र सम्मानलाई शिर चढाउँदै दिपा चुनावी अभियानमा निस्किनुभयो ।

बरु रुकुम रोल्पाका हरेक गाउँ कुना कन्दारामा पुगेकी र ति ठाउँहरु चिनेकी दिपा आफ्नै गृहजिल्ला बाग्लुङका धेरैजसो गाउँबस्तिहरु सँग भने अपरिचित नै हुनुहुन्थ्यो । तर २०७४ सालको चुनावी अभियानले यो अपुरो कुरालाई पनि पुरा गरिदियो । चुनाव जितेर माननीय पनि हुनुभयो । तर दिपाले उत्पादन, मिहेनत र सृजनशीलतालाई छाड्नुभएन् । एउटा माननीयले फेरि विद्यालयमा पढाउन जाने सम्भव हुने कुरा भएन । यसकारण विकल्पमा उहाँले एउटा बङ्गुर फारम स्थापना गर्नुभयो र पोखरामै एउटा ताराखोला अर्ग्यानिक एग्रो एण्ड मल्टी प्रपोज प्रालि नामको फुड सेन्टर चलाईरहनु भएको छ । जहाँ बाग्लुङको ताराखोला, अर्गल, ढोरपाटन लगायतका शिखर बस्तिहरुमा उत्पादन हुने आलु, सिमी, भटमास्, मार्सि चामल, हल्दी, कोदो, मकै, गहुँ, जौँ, फापर, गुद्रुक, अचार, सागसब्जी, चोयाबाट बनेका सरसामान लगायतका तमाम खाद्यबस्तुहरुको होलसेल तथा थोक बिक्री हुने गरेको छ । उहाँ सुनाउनुहुन्छ राजनिति त एक समाजसेवा हो र पार्टी माध्यम हो । जीबन धान्न त वैकल्पिक पेशा अनिवार्य छ । आज म माननिय हुँ मेरो त दुई चार पैसा तलबभत्ता छ भनेर हल्लेर गफ गरेर बसियो भने भोली कार्यकाल सकिए कसरी ज्यान पाल्ने ? झन मेरो त ठुलो परिवार छ । दिपाले आफ्नै सहयोद्धा अर्का जनवादी कलाकार क. विद्रोही सँग दोस्रो विवाह गर्नुभएको छ । विद्रोही संगको बच्चाहरु एक छोरा एक छोरी छन् । भने पहिला शहिद भईसकेका श्रीमान संगको एउटा छोरी छन् ।

केही दिन अघि माओबादी केन्द्रको केन्द्रिय समिति बैठकले ४८ जना केन्द्रिय सदस्यहरु मनोनीत गरेर थप गर्दा त्यसमा दिलमाया रोका मगरको नाम पनि आयो । म कल मार्फत कम्रेड दिपा सँग जोडिँदा उहाँ बङ्गुरहरुको दाना पकाउँन भ्याईनभ्याईको अवस्थामा रहेको पाएँ । केन्द्रीय सदस्य बन्नुभएछ बधाई छ भन्दा उहाँले हाँस्दै जवाफ दिनु भयो हजुर ? मलाई पनि अरु कम्रेडहरुले फोन मार्फत जानकारी दिनुभएपछी बल्ल थाहा पाएँ । म त यता बङ्गुर फारम र पसलको काम कुन गर्ने कुन नगर्ने हैरान छु । तब मैले भनेँ तपाईको राजनितिक पद जहिल्यै फोन मार्फत नै सुनेर थाहा पाउँनुपर्ने है माननीय ज्यु ? उहाँ हाँस्नु भो । उहिले समानुपातिक उम्मेदवार सिफारिस भएको खबर पनि प्रचण्डले फोन गरेर जानकारी दिएपछी मात्रै थाहा पाएको जो थियो ।

कम्रेड दिपाको जनयुद्धको क्रान्तिकारी राजनितिक जीबन र कथाब्यथाहरु त बडो असाधारण किसिमको छँदै थियो त्यसो त जनयुद्धमा होमिएका हरेक नेपालीको कथाकहानी करिब उस्तै हो जुन आफैमा एउटा अभुतपुर्व ईतिहास हो । तर त्यसैमा थप दिपाले शान्तिप्रक्रिया पछिको साधारण जीबनको दौरानमा देखाएको जिन्दगीको अर्को निशस्त्र तर कडा संघर्षले अत्यधिक मेरो मनलाई छोएको हो । जनयुद्ध र त्यो लड्नु कुनै भुल थिएन । पक्षपातपूर्ण राज्यव्यवस्था विरुद्धको एउटा लड्नै पर्ने मोर्चा थियो, समयको माग थियो । दिपाहरुको पुस्ताले पुरा गर्नुपर्ने एक महान अभिभारा थियो जो पुरा गरे । जनयुद्ध लडेकोमा पश्चाताप गर्ने, पार्टी र क्रान्तिलाई सरापेर भौतारीने मनहरु पनि थुप्रै भेटिन्छन् हिजो आज । पार्टी र नेतृत्वलाई खबरदार गर्नु, आलोचना गर्नु अहिलेको परिपेक्षमा स्वभाविक छ । तर देश परिवर्तनको लागि लडिएको ईतिहास प्रति गौरवभाव राख्न नसक्नु दुःखद पाटो हो । उहाँहरुको लागि कम्रेड दिलमाया रोका मगर एक गतिलो उदाहरण हुन् । जो निरन्तर मिहेनत र कर्ममा लागिपरेकी छन् । आफ्नो कर्ममा विश्वास गर्छिन् । ईतिहास प्रति गर्वान्वित छिन् । पदको लागी कहिँकतै धाएनन् धाउँदैनन् । बरु निजी जीबनको संघर्ष र पार्टी तथा क्रान्तिको संघर्ष यि दुबै संघर्षमा अनवरत छिन् । यो अरु कम्रेडहरुको लागी अनुकरणीय छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update