नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले निर्वाचन परिचालन समिति गठन गरेको छ । सोमबार बसेको बैठकले नेता महेन्द्र केसी पारसमणिको संयोजकत्वमा स्थानीय तह २०७९ निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिमा प्रदेश सदस्य, गाउँपालिका पदाधिकारी तथा गाउँपालिका सदस्य, जिल्ला समन्वय समिति सदस्य सबै सदस्य छन् ।
बैठकले निर्वाचन प्रयोजनकै लागि अरु विभिन्न समिति पनि गठन गरेको छ । महेन्द्र केसीकै संयोजकत्वमा बार्ता समिति, धर्मबहादुर केसीको संयोजकत्वमा घोषणा पत्र निर्माण समिति, धर्मबहादुर केसीकै नेतृत्वमा उम्मेदवार सिफारिस समिति गठन गरिएको पार्टी अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । चन्द्रबहादुर शाही संयोजक रहेको आर्थिक व्यवस्थापन समिति, दिपेन्द्रबहादुर मल्ल संयोजक रहेको प्रचार प्रसार समिति, कलबहादुर नाथ संयोजक रहेको सुरक्षा समिति गठन गरिएको अध्यक्ष केसीले बताउनुभयो ।
झरना शाही संयोजक रहेको साँस्कृतिक समिति पनि गठन गरिएको छ । बैठकले १२ गते छिन्खेतमा हुने वाइसीएलको सम्मेलनलाई भव्य बनाउने निर्णय गरेको छ । बैठकबाटै १० वटै वडाको निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम डोल्पा कमाण्ड इन्चार्ज राजकुमार शर्माले पछिल्लो केन्द्रीय समितिको बैठकले लिएका निर्णयका बारेमा जानकारी गराउनुभएको थियो ।
पार्टीको कार्यदिशा, चुनावी रनणीति लगायतका विषयमा शर्माले प्रशिक्षणमूलक मन्तव्य राख्नु भएको थियो । बैठकमा केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज वसन्तकुमार शर्मा, नेता महेन्द्र केसीको आतिथ्यता रहेको थियो । बैठकमा पार्टीका गाउँपालिका इन्चार्ज चन्द्रबहादुर शाही, प्रदेश सदस्य धर्मबहादुर केसी, मनबहादुर वादी, दिपेन्द्रबहादुर मल्ल, नेता कलबहादुर नाथ लगायतको आतिथ्यता रहेको थियो ।