Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट ७ मा निःशुल्क आयुर्वेदिक शिविर, साढे ४ सयले सेवा लिए
शिविरमा सेवा लिन आएकाहरू ।

रुकुम पश्चिको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ को मग्मा स्वास्थ्य चौकीमा निःशुल्क आयुर्वेद शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेदिक अस्पतालको आयोजनामा सोमबार भएको शिविरमा ४ सय ५२ जनाले विभिन्न प्रकारका सेवा लिएका छन् । स्वास्थ्य जाँच सहित विभिन्न २० प्रकारका औषधि वितरण गरिएको छ ।  

शिविरबाट पायल्स, हात खुट्टा झम्किने, खान मन नलाग्ने, ग्याष्ट्रिक, गानोगोला, महिलाहरुमा सेतो पानी बग्ने समस्या र विभिन्न दिर्घ रोगीहरु सेवा लिन आएको आयोजकले जनाएको छ । आयोजकका अनुसार शिविरबाट ४ सय ५२ जनाले सेवा लिएकामा महिलाको सङख्या २ सय ४० र पुरुषको संख्या १ सय ७२ रहेको छ । 

शिविरमा जिल्ला आयुर्वेदि अस्पतालका डाक्टर मानबहादुर ओलीको नेतृत्वमा १५ जना स्वास्थ्यकर्मीको टोली खटिएको अस्पतालका ल्याब टेक्निसीयन प्रकाश गिरीले जानकारी दिनुभयो । अस्पतालले गाउँमै आयुर्वेदिक सेवा दिने उदे्श्यले जिल्लाका विभिन्न ठाउँमा निःशुल्क शिविरहरु आयोजना गर्दै आएको छ । 

जिल्ला भरमा आयुर्वेद सेवा प्रवाह गर्ने गरी पहल भइरहेको जिल्ला आयुर्वेद अस्पतालका प्रमुख शंकर साह रौनियारले बताउनुभयो । हाल जिल्लाका त्रिवेणी गाउँपालिका, बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिकामा आयुर्वेद शाखा रहेको र प्रत्यक पालिकामा शाखा राख्ने लक्ष रहेको उहाँको भनाई छ । जिल्ला आयुर्वेद अस्पताल मुसीकोट नगरपालिका १ खलंगाको कालिकास्थान नजिकै संचालनमा रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update