रुकुम पश्चिममा आज सार्वजनिक सवारीका साधन चलेका छैनन् । जिल्लाका आन्तरिक रुटहरुमा चल्ने बस तथा जिप विहानैदेखि नचलेका हुन् । माघे सक्रान्तिको कारण नभइ विरोध स्वरुप सवारी साधन नचलाइएको हो । पछिल्लो पटक निर्धारण गरिएको भाडामा आफूहरुको चित्त नबुझेको भन्दै व्यवसायीले त्यसको विरोध स्वरुप सवारी सञ्चालन नगरेका हुन् ।
जिल्ला यातायात व्यवस्था समितिले आजैदेखि लागु हुनेगरी नयाँ भाडा निर्धारण गरेको छ । उक्त भाडा व्यवहारीक भन्दा अस्वभाविक भएको भनाई व्यवसायीको छ । पछिल्लो पटक निर्धारण गरिएको भाडा समायोजन नभएसम्म सवारी नचलाउने घोषणा व्यवसायीले गरेका छन् । सार्वजनिक सवारी नचलेपछि यात्रु भने समस्यामा परेका छन् । दैनिक कामकाजको क्रममा ओहोरदोहोर गर्ने तथा माइती, मावली जानेहरु समेत सडकमा हिड्न बाध्य भएका छन् ।
जिल्ला यातायात व्यवस्था समितिले भने यातायात व्यवसायीकै सहभागितामा भाडा निर्धारण गरिएकाले यो कार्यान्वयन भएरै छाड्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी पछिल्लो पटक निर्धारण गरिएको भाडा भन्दा महंगो भाडा लिएको पाइएमा कारबाही गर्ने जनाएको छ । लामो समयदेखि महंगो भाडा रहेको गुनासो आएकाले यातायात व्यवसायी समेतको सहभागितामा नयाँ बाटो तथा भाडा निर्धारणका लागि कार्यदल बनाइएको थियो ।
सोही कार्यदलको सिफारिसको आधारमा भाडा निर्धारण भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । तोकिएको भाडा भन्दा महंगो भाडा लिएको पाइएमा वा तिर्न बाध्यकारी बनाएको अवस्थामा कानून अनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयले बताएको छ । व्यवसायीले भने महंगो इन्धन, असजिलो सडकका कारण पनि पछिल्लो पटक निर्धारण गरिएको भाडामा गाडी चलाउन नसक्ने बताउँदै आएका छन् ।
क बर्गको रुट, ख बर्गको रुट र ग बर्गको रुटमा भाडादर छुट्टा छुट्टै कायम गरिएको छ । क बर्गको रुटमा प्रति किलोमिटर ४, ख बर्गको रुटमा ७ र ग बर्गको रुटमा प्रतिकिलोमिटर ८ रुपैयाँका दरले भाडादर कायम गरिएको प्रजिअ गैह्रेले जानकारी दिनुभयो । लामो समयदेखिको गुनासो र पुनरावलोकन गर्नुपर्ने माग आएपछि निर्णय नै गरेर भाडादर पुनरावलोकन कार्यदल बनाइएको प्रजिअ गैह्रेले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको संयोजकत्वमा प्राविधिक, प्रहरी, ट्राफिक प्रहरी, सडक, यातायात कार्यालयको प्रतिनिधि तथा यातायात व्यवसायिहरुका प्रतिनिधि सम्मिलित कार्यदल बनेको थियो । पछिल्लो पटक निर्धारण गरेको भाडादर अनुसार यस अघि ४ सय भाडा लाग्ने ठाउँमा अब २ सय भन्दा कम रुपैयाँमै यात्रा गर्न पाइने छ ।