रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर २ का नन्दकिशोर कठायत करिब ७ वर्ष मलेसियामा बस्नुभयो । त्यसअघि उहाँले भारतका विभिन्न ठाउँमा पुगेर मजदुरी गर्नुभएको थियो । मेलेसियामा लामो समय विताएपछि कठायत घर फर्किनुभयो । विदेशमा लगाएको श्रम अव देशमै लगाउँछु भन्ने सोँच उहाँमा आयो । सुरुमा के गर्ने भन्ने अन्योल थियो । तर पछि उहाँमा बंगुर पालन गर्ने सोँच आयो । वडा नम्बर २ को सिम्रुतुमा जग्गा लिनुभयो । एकान्त, पानीको सुविधा भएको ठाउँलाई उहाँले रोज्नुभयो । २०७२ साल देखि उहाँ निरन्तर बंगर पालनमा हुनुहुन्छ । मलेसियामा रहदा युट्युवमा हेरेर बंगरपालन प्रति आकर्षित भएको उहाँ सुनाउनुहुन्छ । ‘मैले मलेसियामा हुँदा युट्युवतिर बंगुर पालन सम्बन्धी थुप्रै भिडिओहरु हेर्थे, त्यसले पनि मलाई बंगुर पालन तर्फ आकर्षित गर्यो उहाँले भन्नुभयो ।’
आफु बंगुर पालनमा लाग्नुको अर्को कारण भने बजार रहेको उहाँ बताउनुहुन्छ । ‘उहाँ भन्नुहुन्छ बजारको राम्रो सम्भावना देखेपछि पनि म यस तर्फ आकर्षित भएको हुँ ।’ कठायतले ५ लाख बाट व्यवशाय सुरु गर्नुभएको थियो । अहिले यो व्यवशायमा उहाँको लगानी २२ लाख सम्म पुगेको छ । पहिले भाडामा लिएको जग्गा उहाँले यसै व्यवशायबाट आम्दानी भएको पैसाले किन्नुभएको छ । अझै जग्गा थप्ने उहाँको योजना छ । उहाँको बंगुर फर्ममा अहिले धराने, पाख्रीबास र डिउना प्रजातिका बंगुर छन् । जिल्लाका लागि यि जात नयाँ भएको उहाँ बताउनुहुन्छ । उहाँसंग ८ वटा माउ बंगुर छन् भने ११ वटा पाठापाठी छन । राम्रो प्रजातिको भएकाले रोग लाग्ने सम्भावना कम रहेको उहाँको भनाई छ ।
बजारको माग धान्नै मुश्किल छ
एउटा बंगुरले एक पटकमा १० देखि १६ वटा सम्म पाठापाठी पाउँछ । एउटा माउ बंगुरले वर्षमा २ पटकसम्म पाठापाठी पाइरहेको कठायतले बताउनुभयो । १–२ महिनामै पठापाठी बेच्नका लागि तयार हुन्छन् । अहिले उहाँलाई बजारको माग धान्न मुश्किल छ । ‘बैशाखसम्म ५० वटा पाठापाठीको माग भएको छ, कहाँबाट ल्याउनु म संग अहिले ११ वटा मात्र छन् उहाँ भन्नुहुन्छ ।’ पाठापाठी एउटालाई ४ हजारसम्म मुल्य पर्ने र फाइदा पनि यसैबाट रहेको उहाँले सुनाउनुभयो । पाठापाठीका लागि मान्छेहरु दाङ, नेपालगन्ज बुटवल, पोखरा लगायतका ठाउँबाट गाडी लिएर आउने गरेका छन् । उत्पादन हुने हो भने जति पनि बजार रहेको उहाँको अनुभव छ ।
वर्षमा ५–७ लाख आम्दानी
बंगुरपालनबाट कठायत सन्तुष्ट हुनुहुन्छ । परिवारका सदस्यले पनि सघाईरहेका छन् । बाहिरका मान्छे राख्नु परेको छैन् । कठायत परिवारले नै हालसम्म धानेको छ । वर्षेनी ५ देखि ७ लाखसम्म आम्दानी भइरहेको कठायतले बताउनुभयो । घर परिवार धान्ने मुख्य स्रोत नै यही फर्म रहेको उहाँले बताउनुभयो । बंगुर संगै कठायतले माछा, हाँस र कुखुरा पनि पालिरहनुभएको छ । सरकारको अनुदानबाट माछा पोखरी बनेको छ । पोखरीबाट पहिलो लटको माछा बिक्रि गरिसक्नुभएको छ । कुखुरा पनि अहिले सकिएका छन् । अव माछा र कुखुरा थप्दै हुनुहुन्छ । हाँस भने विभिन्न प्रजातीका छन् । बंगुर सहित माछा, कुखुरा र हाँसबाट समेत कठायतले आम्दानी गरिरहनुभएको छ ।
‘बंगुर भन्ने वित्तिकै मान्छेले गलत सोच्छन’
कठायतको दैनिकी बिहानै सबेरै सुरु हुन्छ । बिहान उठ्ने बित्तिकै स्थानीय सिम्रुत बजारबाट फोहोर उठाएर ल्याउनुहुन्छ । बंगुरको मुख्य दाना यही हो । बजारका प्रत्यक होटलमा उहाँले प्लाष्टिकका ड्रम राखिदिनुभएको छ । होटलमा खेर गएको खाना होटलेले यसमै राखिदिन्छन् । अनि कठायतले उठाएर फर्मसम्म लैजानुहुन्छ । बंगुर पालनप्रति मान्छेहरुको सोँच देख्दा उहाँलाई नरमाईलो लाग्छ । के यस्तो फोहोर काम गरेको भनेर खिसिट्युरी गर्ने मान्छेहरु धेरै रहेको उहाँ बताउनुहुन्छ । आँफुसंगै पहिला भारतमा नाली सफा गरेका मान्छे समेतले यस्तो के काम गरेको भन्दा आफु अचम्ममा पर्ने गरेको उहाँले बताउनुभयो । मान्छेहरुले के फोहोरी काम गरेको भनेर होच्याउने गरेको तर त्यसलाई आफुलाई केही फरक नपर्ने उहाँको भनाई छ ।
व्यवशाय विस्तार गर्ने योजना छ
व्यवशाय विस्तार गर्दै लैजाने कठायतको योजना छ । माउ बंगुरको संख्या बढाएर पाठापाठी उत्पादन बढाउने योजना उहाँले सुनाउनुभयो । बंगुरका लागि अहिलेसम्म कतैबाट अनुदान नपाएका कठायतको अनुदान पाएमा आफुलाई व्यवशाय विस्तार गर्न सहज हुने विश्वास छ ।
भिडिओमा हेर्नुहोस् ।