Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १ कैल्देउमा विद्युत सेवा अवरुद्ध

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ कैल्देउमा विद्युत अवरुद्ध भएको छ । कैैल्देउको गैरापारीमा रहेको ट्रान्सफर्मर जलेपछि एक साता देखि विद्युत सेवा अवरुद्ध भएको हो । २७ गतेको साँझबाट विद्युत सेवा अवरुद्ध भएको स्थानीय सन्तोष बिकले बताउनुभयो ।

विद्युत अवरुद्ध हुँदा गैरापारी, रानीवन, आरुवोट, रातापहर टोलका करिब १ सय ५० भन्दा बढी घरपरिवार अध्यारोमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रमा यसबारेमा जानकारी गराईसकिएको स्थानीयले जनाएका छन् । 

तर जिल्लामा ट्रान्सफर्मर नभएको र सुर्खेतबाट ल्याउनुपर्ने जवाफ कार्यालयले दिएको स्थानीयको भनाई छ । विद्युत सेवा अवरुद्ध भएको एक सातासम्म पनि सेवा सुचारु गर्न पहल नभएको भन्दै स्थानीय उपभोक्ताहरुले गुनासो गरेका छन् । बत्ति नहुँदा आफुहरुलाई ज्यालादारीमा फर्निचरका काम गर्न, मोबाइल चार्ज गर्न, टिभि हेर्न, बिद्यार्थीलाई पठनपाठन गर्न तथा सम्पूर्ण विद्युतिय कामहरु ठप्प भएको स्थानीय भद्रविर रावलले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले भने १, २ दिनमा बत्ति बल्ने जनाएको छ । भोली सुर्खेतबाट ट्रान्सफर्मर जिल्ला ल्याउन लागिएको नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले बताउनुभयो । भोली ट्रान्सफर्मर सुर्खेतबाट ल्याउन लागिएको र पुग्ने वित्तिकै जडान गरेर विद्युत सेवा सुचारु गरिने उहाँले बताउनुभयो । जिल्लामा स्टक सकिएकाले सुर्खेतबाट ट्रान्सफर्मर ल्याउनु परेको केन्द्र प्रमुख भट्टराईको भनाई छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update