Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ३८ प्रतिशत नागरिक स्वास्थ्य बीमामा जोडिए

रुकुम पश्चिममा झण्डै ६० हजार नागरिक स्वास्थ्य बीमामा जोडिएका छन् । जिल्लामा आर्थिक वर्ष २०७४/०७५ बाट स्वास्थ्य बीमा लागु भएकामा हालसम्म ५९ हजार ९ सय ९३ जना स्वास्थ्य बीमामा जोडिएका हुन् । यो संख्या जिल्लाको कुल जनसंख्याको ३८ प्रतिशत रहेको स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय रुकुम पश्चिमका संयोजक डेविड रावलले जानकारी दिनुभयो । जिल्लाका ६ स्थानीय तह मध्यमा सबैभन्दा बढी चौरजहारी नगरपालिकामा र कम त्रिवेणि गाउँपालिकामा बिमित रहेको उहाँले बताउनुभयो । 

चौरजहारी नगरपालिकामा २२ जार ३ सय ८ जना स्वास्थ्य बीमामा जोडिएका छन् । त्यस्तै आठबीसकोट नगरपालिकामा १० हजार ६ सय २८, सानीभेरी गाउँपालिकामा १० हजार १ सय १, मुसीकोट नगरपालिकामा ८ हजार ६ सय २८, बाँफिकोट गाउँपालिकामा ४ हजार ७ सय ६५ र त्रिवेणि गाउँपालिकामा ३ हजार ४ सय ७ जनाले स्वास्थ्य बीमा गरेका छन् । त्रिवेणि र बाँफिकोटमा स्वास्थ्य सेवा प्रदायक नभएकाले बिमितको संख्या कम रहेको जिल्ला संयोजक रावलले बताउनुभयो । उहाँका अनुसार जिल्लाका त्रिवेणि र बाँफिकोट बाहेक ४ वटा स्थानीय तहमा ७ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाहरु छन् ।

स्वास्थ्य सेवा प्रदायक पनि चौरजहारी नगरपालिकाका बढी छन् । चौरजहारीमा चौरजहारी अस्पताल, नगर अस्पताल चिन्नेवगर र प्राथमिक स्वास्थ्य केन्द्र कोटजारी गरी ३ वटा स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्था रहेको रावलको भनाई छ । यसबाहेक मुसीकोट नगरपालिकामा रहेको जिल्ला अस्पताल, आठबीसकोट नगर अस्पताल, सानीभेरी गाउँ अस्पताल र आँखा उपचार केन्द्र सल्लेबाट पनि बीमा वाफतको स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । 

बीमा वाफत स्वास्थ्य वीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय रुकुम पश्चिमले हालसम्म ६ करोड ३ लाख ६३ हजार ३ सय ९५ रुपैंया बिमाङ्क रकम उठाएको छ । जेष्ठ नागरिक, क वर्गको अपांगता भएका व्यक्ति, एचआइभी संक्रमित, विपन्न नागरिकका लागि निःशुल्क तथा बीमामा सहुलियतको व्यवस्था रहेको रावलले बताउनुभयो । 

यसबाहेक स्थानीय तहहरुले समेत विपन्न नागरिकहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने गरेका छन् । ५ जना सदस्य भएको परिवारको वार्षिक ३ हजार ५ सयमा स्वास्थ्य बीमा हुने र त्यो भन्दा बढी सदस्य संख्या भएमा प्रति सदस्य ७ सयका दरले बिमाङ्क रकम थपिदै जाने स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update