रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० को वडा कार्यालय भवन निर्माण हुँदै छ । वडाको चुन पुरानो स्कुलमा वडा कार्यालय भवन निर्माणको चरणमा छ । नगरपालिकाको ५२ लाख बजेटमा भवन निर्माणको काम सुरु भएको छ ।
भवन २ तलाको हुने छ । पहिलो तलामा ४ वटा कोठा र भवनको माथिल्लो तलामा हल रहने मुसीकोट नगरपालिकाका सव इन्जिनियर प्रज्वल कठायतले बताउनुभयो । भवन निर्माणको समावधि आगामी वर्षको मंशिरसम्म भएपनि असार मसान्तसम्म भवन निर्माणको काम सक्ने लक्ष राखिएको वडाले जनाएको छ ।
असार मसान्तसम्म भवन निर्माण भयो भने आगामी आर्थिक वर्षको सुरुबाट वडा कार्यालय भवन संचालनमा ल्याउने वडाको तयारी छ । स्थानीयले उपलब्ध गराएको जग्गामा वडा कार्यालयको भवन निर्माणको काम सुरु भएको हो । स्थानीय जयबहादुर खड्का र जयप्रकाश खड्काले २०५७ सालमै वडालाई १ हजार १ सय ६ वर्ग मिटर जग्गा उपलब्ध गराएका थिए ।
वडाको जग्गा भएपनि बजेट नहुँदा भवन निर्माण हुन सकेको थिएन् । हाल भाडाको पुरानो घरबाट वडा कार्यालय संचालन हुँदै आएको छ । अव नयाँ भवन निर्माणको काम सुरु भएको र निर्माण सकिएमा नयाँ भवनबाट सहज रुपमा सेवा प्रवाह हुने वडा सदस्य धनबहादुर खड्काले बताउनुभयो ।