रुकुम पश्चिममा पनि होली पर्व (फागु पुर्णिमा) मनाईएको छ । एक अर्कामा रंग दलेर शुभकामना साटासाट गर्दै होली पर्व मनाईएको हो । बिहानैबाट होली खेल्ने क्रम सुरु भएको थियो । विशेष गरी युवा युवतिहरुले समुह बनाएर नाँच गान गर्दै एक अर्कामा रंग लगाएर होली मनाएका छन् ।
मुसीकोटका चोक चोकमा भेला भएर रमाईलो गर्दै बिहानैबाट होली खेल्न सुरु गरिएको थियो । जिल्ला सदरमुकाम मुसीकोट खलंगा सहित जिल्ला भरमा होली मनाईएको हो । साथी भाइमा अविर, विभिन्न रंग लगाएर तथा लोला हानेर होली मनाईन्छ । बजारमा पाईने पिच्कारीमा रंग घोलेर समेत एक अर्कामा छ्याप्ने गरिन्छ ।
होलीलाई लक्षित गरेर जिल्ला सदरमुकाम मुसीकोट सहित जिल्लाका मुख्य बजार क्षेत्रहरुमा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । सामान्य दिनको तुलनामा प्रहरी गस्ती बढाईएको छ । शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि हुन नदिन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
असत्य माथि सत्यको जितको प्रतिकका रुपमा हरेक वर्ष हर्षोउल्लासका साथ होली मनाउने गरिन्छ । नेपालमा भने दुई दिन होली मनाउने प्रचलन छ । पहिलो दिन पहाडमा होली मनाउने र तराईका जिल्लाहरुमा भने भोलीपल्ट होली मनाउने गरिन्छ ।