रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ५ स्यार्पूमा आयोजित विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । होलीको अवसरमा सुन्दर समाज युवा क्लब बाँफिकोट ५ ले आयोजना गरेको खेलकुद प्रतियोगिता आज सम्पन्न भएको हो । होली मेलाको अवसरमा महिला तथा पुरुष भलिबलका साथै सोलो बाईकरेस प्रतियोगिताको पनि आयोजना गरिएको थियो । १७ टिमले प्रतिस्पर्धा गरेको पुरुष भलिबल प्रतियोगितामा बाँफिकोट ३ प्रथम भएको छ ।
आज भएको फाईनलमा बाँफिकोट ५ लाई ३–१ को सेटमा पछि पार्दै बाँफिकोट ३ प्रथम भएको हो । प्रथम हुने बाँफिकोट ३ ले नगद ५० हजार रुपैया र साथमा कप मेडल तथा प्रमाणपत्र हात पारेको छ । बाँफिकोट ५ ले भने दोस्रो हुदै नगद ३० हजार नगद मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । बाँफिकोट ४ तेस्रो भएको आयोजक सुन्दर समाज युवा क्लबका अध्यक्ष योगेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार तेस्रो हुने बाँफिकोट ४ ले नगद २० हजारको साथमा मेडल र प्रमाणपत्र हात पारेको छ ।
त्यस्तै ७ टिमले प्रतिस्पर्धा गरेको महिला भलिबल प्रतियोगितामा बाँफिकोट गाउँपालिका वडा नम्बर ४ प्रथम भएको छ । बाँफिकोट ५ लाई पराजित गर्दै बाँफिकोट ४ प्रथम भएको हो । प्रथम हुने बाँफिकोट ४ ले नगद १५ हजारको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो हुने बाँफिकोट ५ ले नगद १० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र हात पार्दा तृतिय हुने बाँफिकोट २ ले नगद ७ हजार रुपैयाँ र मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । ५५ जनाले प्रतिस्पर्धा गरेको सोलो बाईक रेसमा सागर चौधरी प्रथम हुनुभएको छ ।
उहाँले निर्धारित दुरी एक मिनेट ३० सेकेन्डमा पार गर्नु भएको थियो । त्यस्तै सुरेश सिंङले निर्धारित दुरी एक मिनेट १५ सेकेन्डमा पार गर्दै दोस्रो र टोपजङ्ग मल्लले एक मिनेट १३ सेकेन्डमा दुरी पार गरी तेस्रो हुनुभएको छ । प्रथम, दोस्रो र तेस्रोलाई क्रमश नगद १० हजार, ७ हजार र ५ हजार रुपैया सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक सुन्दर समाज युवा क्लबका सचिव कर्णविर दाहालले बताउनुभयो । मेलामा विभिन्न साँस्कृतिक प्रस्तुति देखाउने झाँकीहरूलाई समेत नगद दुई हजार रुपैयाले सम्मान गरिएको थियो ।