Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ नम्बर वडा सिम्रुतुका भिमबहादुर केसी व्यवसायिक सिताके च्याउ उत्पादनमा लाग्नु भएको छ । २०७७ सालदेखि यो च्याउ खेती थाल्नु भएका उहाँले यो वर्षदेखि च्याउबाट आम्दानी गर्न थाल्नुभएको छ । यो वर्षको हालसम्म ५१ किलो च्याउ विक्री गरिसकेको केसीले जानकारी दिनुभयो । प्रतिकिलो ५ सयका दरले च्याउ विक्री भइरहेको र हालसम्म २५ हजार ५ सय आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नै घरमा १ सय ५० उत्तिसका मुढामा च्याउ खेती गरिरहनुभएको छ । बजारमा च्याउको माग राम्रो रहेको उहाँले बताउनुभयो । 

च्याउ उत्पादन गर्ने किसानको लागि त्रिवेणी गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको छ भने ५० प्रतिशत किसानले आफै लगानी गरेका छन् । च्याउ उत्पादनको लागि पानी प्रशस्त हुनुपर्ने विद्युत,टनेलको पनि व्यवस्था हुनुपर्ने केसीले बताउनुभयो । पानी अभावमा च्याउ उत्पादन नहुने हुनाले पानीमा विशेष ध्यान दिनुपर्ने सुझाव केसीको छ । 

अब केसीले थप १ सय ५० मुढामा च्याउ खेती गर्ने तयारी गरिरहनु भएको छ । बजारमा च्याउ पुर्याउन नसक्ने भएपछि थप खेती गर्न लागेको केसीले बताउनुभयो । च्याउ खेती गर्दा प्रत्येक मुढालाई १ मिटरको दुरिमा काटेर त्रिभुज आकारमा मुढालाई पुरै ठाउँमा ६ इन्चको फरकमा प्वाल पारेर प्वालमा च्याउको बिउ राखेर मइनले प्वाल बन्द गर्नुपर्ने हुन्छ । बीउ राखेको  करिव ६ महिना पुग्यो भने मुढाबाट कलेजि रगं आउन थालेपछि २४ घण्टा पानिमा डुबाउनुपर्छ अनि मात्र च्याउ उत्पादन हुन थाल्छ ।

च्याउ ४/४ दिन को फरकमा उत्पादन भएर खान मिल्ने गरी तयार भइसक्छ । च्याउको बीउ राखेको मुढालाई २ महिनासम्म अध्यारो कोठामा कालो प्लास्टिकले छोपेर राख्ने, २ महिना पुगिसकेपछि  हप्ताको १ पटक सिचाई अनिवार्य गर्नुपर्ने र मुढालाई सुख्खा हुनबाट बचाउनुपर्ने हुन्छ । सुरुमा सिताके च्याउको बीउ त्रिवेणी गाउँपालिका र बहुद्देश्यीय सहकारी संस्थाको अनुदानमा पोखराबाट उपल्व्ध भएको हो । 
 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update