नेपाली कांग्रेस रुकुम पश्चिम त्रिवेणी गाउँपालिका सभापति दिपेन्द्र ओलीलाई १२ जना युवाहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । तरुण दलको नेतृत्वका विषयमा उनिहरुले पार्टी सभापतिलाई ध्यानाकर्षण गराएका हुन् । खिमराज पुनको संयोजकत्वमा रहेको युवाहरुको टोलीले तरुण दल त्रिवेणिको दोस्रो अधिवेशनबाट उत्पन्न असहज अवस्थाले आफुहरुलाई गम्भिर बनाएको भन्दै यसमा गम्भिर हुन पार्टीलाई ध्यानाकर्षण गराएको हो ।
चैत्र ३ गते भएको तरुण दलको दोस्रो अधिवेशनलाई लिएर उनिहरु असन्तुष्ट छन । पार्टीकै अग्रज व्यक्ति र विभिन्न सञ्चार माध्यमबाट तरुण दलको दोस्रो अधिवेशन सम्पन्न भएको भन्ने खवरले आफुहरुलाई गम्भिर बनाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । स्वच्छ निर्वाचन प्रणाली र लोकतन्त्रको पहरेदार नेपाली कांग्रेसका सक्रिय इमानदार बौद्धिक नेता तथा कार्यकर्तालाई पन्छ्याएर चोर बाटो अपनाएको आरोप समेत लगाईएको छ । यस्तो प्रवृत्तिले पार्टीलाई दुर्घटनाको बाटोमा लगेको भन्दै युवाहरुले सचेत बनाएका छन् ।
निर्वाचन नजिकिदै गर्दा उर्जावान तरुण कार्यकर्तालाई यसरी बिचलनको बाटो धकेल्नुले नेतृत्वको विश्वसनियतामा प्रश्न उठेको छ र कार्यकर्ताको उर्जामा हलचल हुने भएकाले यस बिषयमा सभापतिको गम्भिर ध्यानाकर्षण होस पत्रमा उल्लेख छ । उनिहरुले असक्षम नेतृत्वलाई नै पुनः तदर्थ समितिको जिम्मा दिएको र एकलौटी रुपमा निर्वाचन परिचालन समिति गठन गरिएको भन्दै तिव्र असन्तुष्टि जनाएका छन् ।
प्रथम अधिबेशन सम्पन्न भएको ५ बर्ष भैसक्दा पनि यो अवधिमा संगठनले गरेका कुनै पनि कामको प्रतिबेदन अधिवेशनमा प्रस्तुत नगरिनुले अघिल्लो पटक नेतृत्वमा रहेकाहरुको असक्षमता पुष्टि भएको उनिहरुको भनाई छ । युवाहरुले तदर्थ समिति र निर्वाचन परिचालन समिति तत्काल खारेज गर्न माग गरेका छन् । उनिहरुले निर्वाचन परिचालन समितिप्रति शंका गरेका छन् ।
साथै ध्यानाकर्षण पत्रमा केन्द्रीय सर्कुलर प्राप्त नभएकाले अधिवेशन स्थगित गर्नुपरेको भन्ने पार्टीको जवाफ हास्यास्पद रहेको उल्लेख छ । प्रत्यक वडाबाट ६/६ जना प्रतिनिधि सिफारिस भइ आएको र अध्यक्ष सहित २ उपाध्यक्ष, १ सचिव, २ सह सचिव र १ कोषाध्यक्ष तथा सदस्यहरु रहने स्पस्ट व्यवस्था हुँदा हुँदै पनि केन्द्रीय सर्कुलर आएन भन्नु हास्यास्पद हो पत्रमा भनिएको छ । केन्द्रीय सर्कुलर नै नआएको भए किन अधिवेशन आयोजना गरिएको हो भन्ने प्रश्न पनि पत्र मार्फत गरिएको छ । साथै उनिहरुले सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट समेत नेतृत्व चयन हुनुपर्ने भएपनि नेता कार्यकर्तालाई काम गर्न बञ्चित गर्ने गरी तदर्थ समिति बनाईएको आरोप लगाएका छन् । साथै इमान्दार कार्यकर्तालाई पेलेर नेतृत्व अगाडी बढेको समेत युवाहरुको गुनासो छ ।
युवाहरुले एक हप्ता भित्र अधिबेशन आह्वान गरि नयाँ नेतृत्व चयन गर्न माग गरेका छन् । खिमराज पुन सहित टेकबहादुर खड्का, मिनराज ओली, मनमोहन ओली, हेमराज ओली, शिवप्रकाश डाँगी, यज्ञकुमार ओली, रमेश ओली, यज्ञ केसी, भिमबहादुर केसी, कृष्णबहादुर खड्का र कर्णबहादुर खड्काले संयुक्त हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र पार्टी सभापति दिपेन्द्रकुमार ओलीलाई बुझाएका हुन् । चैत्र ३ गते उद्घाटन भएको तरुण दल त्रिवेणिको दोस्रो अधिवेशन पुरानै अध्यक्ष नविन ओलीको संयोजकत्वमा तदर्थ समिति गठन गर्दै स्थगित भएको थियो ।