नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिमले अबका सम्पूर्ण कार्यक्रम निर्वाचनमा केन्द्रीत गर्ने भएको छ । आज बसेको जिल्ला समन्वय समितिको बैठकले पार्टीका हरेक कार्यक्रम अब निर्वाचन केन्द्रीत गर्ने भएको हो । त्यसका लागि माओवादीले ‘समाजवादउन्मुख समृद्धिका लागि स्थानीय सरकार’ भन्ने मुल नारा तय गरेको छ ।
यही नारा सहित दुई महिना निर्वाचन अभियानमा होमिने र हरेक कार्यक्रम निर्वाचन केन्द्रीत हुने गरी निर्णय गरेको जिल्ला इन्चार्ज वसन्तकुमार शर्माले जानकारी दिनुभयो । बैठकले स्थानीय तहका उम्मेदवार छनौट समिति पनि गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्यहरु र जिल्ला संयोजक सदस्य रहने गरी उम्मेदवार छनौट समिति बनाइएको जिल्ला संयोजक गोविन्द रोकाले बताउनुभयो ।
केन्द्रीय सदस्यहरु राजकुमार शर्मा, वसन्तकुमार शर्मा, गोपाल शर्मा, महेन्द्र केसी, लुम्बिनी गौतम, लक्ष्मी पुन, वैकल्पिक केन्द्रीय सदस्य पुष्प वादी र जिल्ला संयोजक गोविन्द रोका सदस्य रहेको उम्मेदवार छनौट समिति चयन गरिएको छ । हरेक वडाले पालिकामा, पालिकाले जिल्ला समन्वय समितिमा र जिल्ला समन्वय समितिले प्रदेशमा उम्मेदवारको सिफारिस गर्नेछन् ।
वडा र पालिकाबाट आएका सिफारिसमा छनौट समितिले टिकटका लागि कर्णाली प्रदेशमा सिफारिस गर्ने छ । बैठकमा पार्टीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले प्रशिक्षणमूलक मन्तव्य राख्नु भएको थियो । प्रशिक्षणका क्रममा उहाँले जनताका आधारभुतदेखि सबै समस्यासँग सँगसँगै भएर अघि बढ्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरु राजकुमार शर्मा, वसन्तकुमार शर्मा, महेन्द्र केसी, लुम्बिनी गौतम, लक्ष्मी पुन लगायतको आतिथ्यता रहेको थियो । बैठकको सहजिकरण जिल्ला संयोजक गाविन्द रोकाले गर्नुभएको थियो । बैठकमा पालिकाका अध्यक्षहरुले समसामयिक विषयमा रिर्पोटिङ गरेका थिए ।