Kakhara सबैको खबर सम्पूर्ण खबर
राजश्वमा तीन स्थानीय तह सफल, तीन असफल

वितेको आर्थिक वर्ष २०७६/०७७ मा रुकुम पश्चिमका आधा मात्र स्थानीय तहले राजश्वको लक्ष पुरा गरेका छन् । जिल्लामा जम्मा ६ वटा स्थानीय तह रहेकामा तीन वटा स्थानीय तह मात्र राजश्वको लक्ष पुरा गर्न सफल भएका हुन् ।

आठबीसकोटले गत वर्ष पनि लक्ष पुरा गर्यो
स्थानीय तह स्थापना भएको सुरुका वर्षदेखि नै लक्ष अनुसारको राजश्व संकलन गरिरहेको आठबीसकोट नगरपालिकाले वितेको आर्थिक वर्षमा पनि लक्ष भन्दा बढी राजश्व उठाएको छ । नगरपालिकाले वितेको वर्ष तीन करोड ५० लाख राजश्व संकलन गर्ने लक्ष लिएकामा तीन करोड ६८ लाख ४९ हजार पाँच सय ६८ रुपैंया राजश्व संकलन गरेको छ ।

सुरुका वर्ष देखि नै राजश्व संकलनलाई कडाईका साथ लिएको र वर्षेनि राजश्वको लक्ष बढाउँदै लगेको र हरेक वर्ष लक्ष पुरा भैरहेको नगर प्रमुख गोर्खवहादुर केसीले बताउनुभयो । कुनै सेवा लिएपछि अनिवार्य राज्यलाई राजश्व तिर्नुपर्छ भन्ने चेतना विकास गर्नुका साथै राजश्वको दरभन्दा दायरालाई फराकिलो पारीएको उहाँको भनाई छ ।

५० लाख राजश्व संकलन गर्ने लक्ष लिएको जिल्लाको त्रिवेणि गाउँपालिकाले ६३ लाख ८५ हजार ८ सय ३४ रुपैंया राजश्व उठाएको छ । लक्ष भन्दा २७.७१ प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र रावलले जानकारी दिनुभयो ।

आठबीसकोट र त्रिवेणिले गत वर्षकै जति आन्तरिक राजश्व अनुमान गरेका छन् । बाँफिकोट गाउँपालिकाले पनि लक्ष भन्दा बढी राजश्व उठाएको छ । वार्षिक आन्तरिक राजश्व अनुमान २० रहेकामा लक्ष भन्दा ७४.८ प्रतिशत बढी अर्थात ३४ लाख ९६ हजार राजश्व संकलन गरेको छ । गाउँपालिकाले यो वर्ष बढाएर ३५ लाख राजश्व संकलन गर्ने लक्ष लिएको प्रमुख प्रशासकिय अधिकृत महेश गुरुङले बताउनुभयो ।

यि स्थानीय तहले लक्षको आधा मात्र राजश्व उठाए
गत वर्ष राजश्वको लक्ष पुरा गर्न नसक्ने स्थानीय तहमा मुसीकोट नगरपालिका चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका रहेका छन् । जिल्लामै सबैभन्दा बढी ४ करोड राजश्वको लक्ष लिएको चौरजहारी नगरपालिकामा लक्षको आधा भन्दा पनि कम १ करोड ८० लाख मात्र राजश्व उठेको छ ।

नगरपालिकाको आन्तरिक स्रोत भन्दा बढी राजश्व प्रक्षेपण गरिएका कारण त्यो अनुसार राजश्व संकलन हुन नसकेको नगरपालिकाले जनाएको छ । त्यस्तै २ करोड ५० लाख आन्तरिक राजश्व अनुमान गरेको मुसीकोट नगरपालिकामा १ करोड १९ लाख र ७१ लाख ८८ हजार राजश्व संकलन गर्ने लक्ष लिएको सानीभेरी गाउँपालिकामा ३७ लाख ५६ हजार सात सय राजश्व उठेको छ ।

चौरजहारी र मुसीकोटले लक्ष घटाउँदा सानीभेरीले बढायो
लक्ष अनुसारको राजश्व उठाउन नसकेपछि दुई स्थानीय तहले लक्ष घटाएका छन् । गत वर्ष ४ करोड लक्ष लिएको चौरजहारी नगरपालिकाले त्यसलाई घटाएर २ करोड पुर्याएको छ । आन्तरिक आम्दानीको स्रोतलाई मापन नगरी लक्ष लिईएका कारण पुरा गर्न नसकिएपछि लक्ष घटाईएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामवहादुर केसीले बताउनुभयो ।

जिल्ला सदरमुकाम मुसीकोटले भने प्रशस्त स्रोतहरु हुँदा हुँदै पनि राजश्वको लक्ष पुरा गर्न नसकेपछि चालु वर्षमा लक्ष घटाएको छ । सदरमुकाममा राजश्वको दायरालाई फराकिलो पार्न सकिने भएपनि नगरपालिकाले हालसम्म लक्ष अनुसारको राजश्व उठाउन सकेको छन् । गत वर्ष लिएको राजश्वको लक्ष २ करोड ५० लाखलाई यो वर्ष १ करोड ५० लाखमा झारेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरविर खड्काले जानकारी दिनुभयो ।

लक्ष पुरा नभएपनि सानीभेरी गाउँपालिकाले भने लक्ष बढाएको छ । गत वर्ष ७१ लाख ८८ हजार राजश्वको लक्ष लिएको गाउँपालिकाले त्यसलाई बढाएर ९० लाख पुर्याएको छ । गत वर्ष लकडाउनका कारण बालुवा, गिट्टी, ढुंगाबाट अपेक्षा गरिएअनुसार लक्ष पुरा हुन नसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भुपालसिंह बिष्टले बताउनुभयो । तर यो वर्ष भने राजश्वको लक्ष बढाएर सोही अनुसार राजश्व संकलनमा कडाई गर्ने लक्ष लिईएको उहाँको भनाई छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update