Kakhara सबैको खबर सम्पूर्ण खबर
धैरैनीचौरको विद्युत सव स्टेशन उद्घाटन 
सव स्टेशनको उद्घाटन गर्दै जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषाल र अर्थमन्त्री जनार्दन शर्मा ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ मा रहेको विद्युत सव स्टेशनको उद्घाटन भएको छ । आज उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषाल र अर्थमन्त्री जनार्दन शर्माले संयुक्त रुपमा ३३ केभि क्षमताको सव स्टेशनको उद्घाटन गर्नुभएको हो । सव स्टेशन यस अघि नै संचालनमा आएको भएपनि औपचारिक उद्घाटन आज भएको हो । निर्माण कार्य सम्पन्न भएपछि फागुन २ गतेदेखि उक्त सव स्टेशनबाट विद्युत सेवा प्रवाह सुरु भएको थियो ।

४ वर्ष अगाडी सव स्टेशन निर्माणको काम सुरु भएको थियो । कोभिड लगायतका कारणले तोकिएको समयभन्दा केही ढिला गरी निर्माण सकिएको थियो । यसअघि जिल्लामा सल्यानको शितलपाटी सव स्टेशनबाट विद्युत आपुर्ति भइरहेको थियो । ११ केभिको प्रशारण लाइन झण्डै ८० किलोमिटर दुरी पार गरेर जिल्लामा पुर्याईदा बिद्युत सेवा भरपर्दो थिएन् ।

जिल्ला मै सव स्टेशन निर्माण भई संचालनमा आएपछि भने भोल्टेजको समस्या र अनियमित हुने समस्यामा कमि आएको नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ । हाल जिल्लामा नेपाल बिद्युत प्राधिकरणका १५ हजार उपभोक्ताहरु छन् । सबै स्थानीय तहमा केन्द्रीय प्रशारण लाईनले छोएको छ ।

जिल्लाका ७३ वडा मध्यमा ५२ वटा वडामा बिद्युत पुगेको नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक मनोज सिलवालले कार्यक्रममा जानकारी गराउनुभएको थियो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालको प्रमुख र अर्थमन्त्री जनार्दन शर्माको विशेष आतिथ्यता रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update