Kakhara सबैको खबर सम्पूर्ण खबर
सडक विस्तार गरे जसरी रुकुम पश्चिमका घर घरमा बिजुली बाल्छौंः अर्थमन्त्री शर्मा 

अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका लागि आवश्यक बिद्युत जिल्लामै उत्पादनको क्रममा रहेको बताउनुभएको छ । जिल्लाका ६ वटै स्थानीय तहको लगानीमा ४.३ मेगावाट क्षमताको स्यार्पू हाइड्रोपावरको प्रक्रिया अगाडी बढेको र रुकुम पूर्वमा ५ मेगावाट क्षमताको रुकुमगाडको काम पनि भइरहेकोले जिल्लालाई आवश्यक पर्ने विद्युत अव जिल्लामै उत्पादन हुने उहाँको भनाई छ । 

आज रुकुम पश्चिमको मुसीकोट ३ स्थित धैरेनीचौरमा रहेको विद्युत सव स्टेशन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । साथै उहाँले जिल्ला भरमा सडक सञ्जाल विस्तार गरे जसरी घर घरमा विद्युत पुर्याउने गरी काम भइरहेको बताउनुभयो । यसका लागि बजेटको कुनै समस्या नभएको र तार, पोल तथा ठेक्काको समस्यालाई हल गर्न उहाँले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई आग्रह गर्नुभएको थियो । 

आर्थिक परिवर्तनका लागि विद्युत मुख्य साधन भएको उहाँको भनाई थियो । ‘अव बिद्युत र सडकलाई उत्पादनसंग जोडेर आत्मनिर्भर बनाउने लक्ष छ, सामाजिक, साँस्कृतिक अभियान जिल्लामा संग संगै अगाडी बढाएका छौं, समृद्धिको अभियानमा रुकुमले भुमिका खेल्छ उहाँले भन्नुभयो ।’ 

अर्को प्रसंगमा अर्थमन्त्री शर्माले गाउँ र सहरलाई जोड्ने बजेट निर्माण गरिने बताउनुभएको छ । सरकार बजेट निर्माणको चरणमा रहेको बताउँदै मन्त्री शर्माले आवश्यकता पहिचान गरेर गाउँ र सहर दुवैलाई जोड्ने गरी बजेट निर्माण हुने बताउनुभयो । त्यस्तै व्यापार घाटा बढ्दै गएको भन्दै उहाँले यसलाई रोक्न स्थानीय उत्पादनलाई बढाउनुपर्ने बताउनुभयो । देशमै उत्पादन गर्न सकिने साना साना चिजहरु पनि बाहिरबाट आयात गर्नुपर्दा व्यापार घाटा बढ्दै गएकोले अव स्वदेशि उत्पादनमा सरकारले विशेष जोड दिएको समेत उहाँले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update