Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका स्थानीय तह नमूना रैछनः उर्जामन्त्री भुषाल

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले रुकुम पश्चिमका स्थानीय तहहरुले नमूना काम गरिरहेको बताउनुभएको छ । हिजो एउटा आन्दोलनका क्रममा देशभरमा नेता कार्यकर्ता सप्लाई गर्ने मात्र नभई संविधान प्रदत्त अधिकारलाई प्रयोग गरेर आज रुकुम पश्चिमका स्थानीय तहले नमूना योग्य काम गरेको आफुले पाएको उहाँले बताउनुभयो । 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौर स्थित विद्युत सव स्टेशनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भुषालले स्थानीय तहले गर्नुपर्ने खास काम रुकुम पश्चिमका स्थानीय तहहरुले गरिरहेको आफुले भेट्टाएको बताउनुभएको हो । छोटो समयमा जिल्लाका विभिन्न स्थानीय तहमा पुग्दा उद्योग स्थापना देखि श्रम सहकार्य समुह मार्फत कामको सुरुवात भएको देख्दा खुशि लागेको समेत उहाँले बताउनुभयो । 

रुकुम पश्चिमले समाजवादको बाटो समातेको उहाँको भनाई छ । ‘जिल्लाका स्थानीय तहहरुले सबै क्षेत्रमा नमूना योग्य काम गरिरहेका रैछन् उहाँले भन्नुभयो, देशैभरका पालिका तथा हाम्रो पार्टीले यसबाट सिक्नुपर्छ ।’ यसलाई थप परिस्कृत, पारदर्शि बनाउदै लैजानुपर्ने र यसमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट हुनसक्ने सहयोगका लागि हामी तयार रहेको उहाँले बताउनुभयो ।

बाँकी रहेका ठाउँमा विद्युतिकरण र सिँचाईको पहुँच बढाउनका लागि पनि मन्त्रालय गम्भिर रहेको उहाँको भनाई थियो । साथै उहाँले विद्युतिय सामग्रिको प्रयोग गर्न आग्रह गर्नुभयो । नेपाल उर्जामा आत्मनिर्भर अवस्थामा पुगेको र अव रुकुम पश्चिम जस्ता जिल्लाहरुमा पनि विद्युतिय सवारी साधन तथा विद्युतिय सामग्रिको प्रयोगलाई बढाउन आग्रह गर्नुभएको हो ।  

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update