मुसीकोट नगरपालिका–१०, को शहीद कामि बुढा पार्कमा आयोजित खेलकुद र सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । शहीद कामि, बुढा बिजय छहरा युवा क्लबले परम्परागत पापिनी तथा माघे संक्रान्ति मेलाको अवसरमा महिला, पुरुष भलिबल सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेको थियो । ४ दिनसम्म चलेको प्रतियोगिताको पुरुष भलिबल तर्फ लुम्बिनी प्रदेश अन्तरगतको रुकुम पूर्वको भुमे गाउँपालिका–९, चुनबाङ प्रथम भएको छ । आयोजक दोस्रो हुँदा वडा नं. ११ भलाक्चा र परिवर्तन गाउँपालिका ४ ले शान्त्वना स्थान हात पारेका छन् ।
त्यस्तै महिला भलिबल तर्फ रोल्पाको परिवर्तन गाउँपालिका ४ ले पहिलो स्थान हाँसिल गरेको छ । त्यस्तै आयोजक ‘ए’ र ‘बि’ टिम दोस्रो र तेस्रो भएका छन् । पुरुष भलिबलमा प्रथम हुनेले २० हजार, दोस्रोले १५ हजार र शान्त्वना हुनेले ५/५ हजार प्राप्त गरेका छन् । महिला भलिबलमा भने प्रथमले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार प्राप्त गरेको आयोजक शहीद कामि बुढा, बिजय छहरा युवा क्लवका सचिव खगेन्द्र रोकायले जानकारी दिनुभयो । मेलामा स्थानीय पापिनी नाच, मयुर नाच र पैसेरु नाचहरु पनि प्रदर्शन भएका थिए । सहीद कामि बुढा पार्कमा ४ वर्ष देखि हरेक वर्ष विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु भइरहेका छन् ।