Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा नमूना युवा संसदको अभ्यास   

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा वडा नम्बर २ को सहिद स्मृति सभाहल सिम्रुतुमा नमूना युवा नमूना संसद कार्यक्रम संचालन भएको छ । त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा सिर्जनशिल युवा सञ्जालले युवाहरुको सहभागितामा नमूना युवा संसद संचालन गरेको हो । 

स्थानीय सरकार कसरी सञ्चालन हुन्छ भन्ने कुरा सिकाउनका लागि नमूना युवा संसद कार्यक्रम संचालन गरिएको सिर्जनशिल युवा सञ्जालका अध्यक्ष विशाल बिष्टले जानकारी दिनुभयो । गाउँसभा कसरी सञ्चालन हुन्छ भनेर युवाहरुको सहभागितामा नमूनाको रुपमा गाउँ सभा संचालनको अभ्यास गरिएको उहाँले बताउनुभयो । 

युवालाई मुलुकको शासकीय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनबारे सुसूचित गराएर संसदीय अभ्यासमा सरकार गठन, विश्वासको मत, व्यवस्थापिका संसद् सञ्चालन गर्ने गरी नमूना युवा संसद संचालन गर्ने गरिएको छ ।त्रिवेणी गाउँपालिकाका १० वटै वडाबाट ३/३ जना गरी ३० जना प्रतिनिधिहरुको सभागिता रहेको थियो । त्यस्तै कार्यक्रमबाट पालिका स्तरीय युवा सञ्जाल गठन पनि गरिएको छ । टिकाराम ओलीको अध्यक्षतामा सञ्जाल बनाईएको हो । 

जसको उपाध्यक्ष रमा बाँठा, सचिवमा पवित्रा घर्ति र कोषाध्यक्षमा अर्जुन बुढाथोकी रहनुभएको छ । सञ्जालले युवाहरुको चौतर्फी विकासको लागि स्थानीय सरकारसंग समन्वय गरेर काम गर्ने जनाएको छ । गाउँपालिकाका १० वटै वडामा यस अघि नै युवा सञ्जाल गठन भैसकेको अध्यक्ष ओलीले बताउनुभयो ।

सिर्जनशिल युवा सञ्जालका अध्यक्ष विशाल बिष्टको अध्यक्षतामा भएको समापन कार्यक्रममा राष्ट्रिय युवा परिषद जिल्ला समन्वय समिति रुकुम पश्चिमका अध्यक्ष भिमराज ओलीको प्रमुख र नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य मिनबहादुर ओलीको विशेष आतिथ्यता रहेको थियो । 

सिर्जनशिल युवा सञ्जालका उपाध्यक्ष रमेश लामिछानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सञ्जालका महासचिब विशाल योगीले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update