Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे ८ स्थित सरस्वति माविको ८ कोठे भवन बन्दै 

रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर ८ सिमखोलामा अवस्थित सरस्वति माविको नयाँ भवन निर्माणको काम सुरु भएको छ । पुराना तीन ओटा भवन भत्काएर ८ कोठे नयाँ भवन निर्माणको काम सुरु भएको हो । जसका लागि घडेरी निर्माणको काम सकिएको छ । 

उक्त भबन निर्माणका लागि संघीय सरकारबाट ३६ लाख आएको छ । यो बजेट ४ कोठाका लागि भनेर आएको हो । २ कोठाका लागि समाज डिभिजनबाट २० लाख बजेट आएको बिद्यालयले जनाएको छ । थप बजेटको व्यवस्था गरेर थप २ कोठा समेत गरी ८ कोठे भवन निर्माण हुन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्रिसन रोकाले जानकारी दिनुभयो । 

६ वटा कोठाका लागि बजेट सुनिश्चित भइसकेको र बाँकी २ कोठाको लागि गाउँपालिका र समाज डिभिजनसंग पहल भइरहेको उहाँले बताउनुभयो । पुराना भवन भत्काएर नयाँ भवन निर्माण सुरु भएपछि अहिले बिद्यार्थी खुला चौरमा बसेर पढिरहेका छन् । 

अन्य कुनै संरचना नभएको र भएका संरचना भत्काएर नयाँ भवन निर्माण थालिएपछि बिद्यार्थीलाई खुला ठाउँमा राखेर पढाउन बाध्य भएको विव्यस अध्यक्ष रोकाले बताउनुभयो । खुला ठाउँमा बसेर पढ्नुपर्दा समस्या भइरहेको बिद्यार्थीहरुको भनाई उधृत गर्दै त्यहाँबाट धनकुमार पुन मगरले जानकारी दिनुभयाे । 
 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update