नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमको चौथो जिल्ला कमिटी बैठक चौरजहारीमा बसेको छ । पार्टीका केन्द्रीय उप महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख उपस्थितिमा बुधबार बसेको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनका लागि जिल्लाका अन्य दलहरुसंग छलफल गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले ‘जनताको माझमा जाऔं, नेकपा एकीकृत समाजवादीलाई जिताऔं, भन्ने पार्टीको केन्द्रीय अभियान अनुसार निर्वाचन लक्षित पार्टी गतिविधि संचालन गर्ने निर्णय गरेको छ । जसअनुसार जिल्लाका सबै पालिका कमिटीको विस्तारित बैठक गर्ने निर्णय भएको जिल्ला अध्यक्ष बिमलकुमार पुनले जनाकारी दिनुभयो ।
उहाँका अनुसार चैत्र १३ गते सानीभेरी, १४ गते त्रिवेणि, १५ गते बाँफिकोट, १६ गते आठबीसकोट, १७ गते चौरजहारी र १८ गते मुसीकोटको विस्तारित बैठक बस्ने छ । चैत्र २२ गते मुसीकोटमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्ने पनि बैठकले निर्णय गरेको छ । चैत्र २२ देखि ३० गतेसम्म जनवर्गिय संगठनका भेला तथा बैठकहरु गर्ने निर्णय पनि भएको छ ।
यसका साथै नेकपा एस रुकुम पश्चिमले पालिका देखि वडा तहसम्म मतदाता तथ्यांक संकलन गर्ने, पार्टीको अवस्था बुझ्ने, निर्वाचन परिचालन समिति बनाउने, प्रतिबद्धता पत्र जारी गर्ने लगायतका काम पनि गर्ने भएको छ । जिल्ला कमिटी बैठकले पार्टीको नयाँ विधान अनुसार जिल्ला कमिटीलाई पूर्णता दिएको छ । जसअनुसार उपाध्यक्षमा माधवप्रसाद गौतम र कल्याणी खड्का, उप सचिवमा धनराज खड्का, सिताराम देवकोटा र मोहविर बिष्ट मनोनित भएको जिल्ला अध्यक्ष पुनले बताउनुभयो ।
बैठकमा केन्द्रीय उप महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला सहित पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज शेरबहादुर केसी, केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सचिव ठगेन्द्रप्रकाश पुरी, केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज देवि ओलीको आतिथ्यता रहेको थियो । जिल्ला अध्यक्ष बिमलकुमार पुनको अध्यक्षतामा बसेको बैठकको संचालन जिल्ला सचिव हरिप्रसाद शर्माले गर्नुभएको थियो ।